अर्थकर्पोरेट/पर्यटन

नेपाललाई उड्डयन सुरक्षा सूचीबाट हटाउने इयूको संकेत

विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको युरोपेली सङ्घ (इयु)को प्राविधिक टोली अहिले नेपालको हवाई उड्डयन सुरक्षाप्रति सकारात्मक देखिएको छ ।

नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यद्यपि अक्टोबर २८ (कात्तिक ११ गते) मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक कार्यक्रम छ । उक्त प्रतिवेदनपछि औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ ।

इयासाको टेक्निकल ओअप्रेसन टिमले यही असोज २१ देखि असोज २३ गतेसम्म नेपालको एभिएशन क्षेत्रको अडिट गरेको थियो । तीन सदस्यीय प्राविधिक टोलीले अडिट गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले इयुअन्तर्गतको प्राविधिक टोली नेपाली हवाई क्षेत्रको अवस्थाबारे सकारात्मक रहेकाले नेपाल इयुको ‘उड्डयन सुरक्षा सूची’ बाट चाँडै हट्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “इयासाको प्राविधिक टोलीले नेपालले हवाई सुरक्षा क्षेत्रमा गरेका प्रगतिका बारेमा अध्ययन, छलफल गरेर गरेको छ । प्रतिवेदन आइसकेपछि प्रतिवेदनमा औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ र अन्तिम प्रतिवेदन इयुमा बुझाएपछि सुरक्षा सूचीबाट हटाउने निर्णयको टुङ्गो लाग्छ ।”

इयूको प्राविधिक टोलीले अहिलेसम्म गरेको प्राविधिक अध्ययन र प्राधिकरणसँग गरेको छलफलमा इयासाको टोली सन्तुष्ट रहेको प्रवक्ता निरौलाले बताउनुभयो ।

नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हासिल गरेको ग्लोबल एभरेजभन्दा माथि अर्थात ७० दशमलव एक प्रतिशत हवाई सुरक्षादर र हवाई दुर्घटना नियमावली मन्त्रिपरिषद्बाट पास भइसकेकोलगायत विषयलाई आधार मानेर अडिट गरेको बताइएको छ ।

उक्त प्राविधिक टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गरेको प्राधिकरणले जनाएको छ ।

इयुले विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । जसका कारण नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय वायुयानले युरोपमा उडान भर्न पाएका छैनन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले युरोपका आकाशमा उडान भर्न पाउँदैनन् तर, युरोपका जहाजले नेपालको आकाश सहजरूपमा प्रयोग गर्न पाउँछन् ।

यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो ।

पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले सुरक्षा सूचीबाट हटाएको थियो । अहिले एशिया प्रशान्त क्षेत्रको ग्लोबल हवाई सुरक्षादर ६७ पुगेको छ ।

आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ । आइकाओको सेफ्टी अडिटमा नेपालले ७० दशमलव एक प्रतिशत अङ्क पाएको थियो ।

इयुले उठाएका सुरक्षा चासोका विषय सम्बोधन भइसकेको र नेपालको हवाई सुरक्षाको अवस्थामा सुधार आएकाले यो पटक नेपाल इयुको सुरक्षा सूचीबाट हट्ने प्रवक्ता निरौलाले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “अब इयुको सुरक्षा सूचीबाट नेपाल हट्छ । हामीले हवाई सुरक्षादरमा उल्लेख्य प्रगति गरेका छौँ । अन्य धेरै कुराको सुधार भएको छ ।”

आइकाओले विश्वव्यापी उडान सुरक्षा सुपरीवेक्षण अन्तर्गत आफ्ना सदस्य राष्ट्रको उडान सुरक्षा स्थितिको नियमितरूपमा मूल्याङ्कन गर्छ । प्राधिकरणले नियामक र सेवाप्रदायक निकायमा कर्मचारी सरुवा नगर्ने गरी नियमावली पनि संशोधन गरेको प्राधिकरणले जनाएको छ ।

नियामक निकायमा रहेको कर्मचारीको दरबन्दी सेवाप्रदायकमा सरुवा नहुनु ठूलो उपलब्धि भएको प्रवक्ता निरौलाले उल्लेख गर्नुभयो । इयुले प्राधिकरण विभाजन गरेर नियामक र सेवाप्रदायक बनाउन चासो दिएको थियो । संस्था विभाजन इयुको पूर्वशर्त नभएकाले अब संस्थागत विभाजन नहुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.