गुटबन्दीको राजनीति कति घातक हुन्छ भन्ने पछिल्लो दृष्टान्त कर्णाली प्रदेशमा देखिएको छ । कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका १८ जना सांसदहरुले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।
सांसदहरुले आइतवार प्रदेशसभामा शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।
उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ १ बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन् ।
प्रदेश सरकारका बिरुद्ध सुरुदेखि नै विपक्षी सांसदको जस्तो व्यवहार गर्दैआएका पूर्व एमाले नेता यामलाल कँडेलको नेतृत्वमा नेकपाका १८ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । कर्णाली प्रदेशसभामा ३३ जना संसद रहेका छन् ।