जन सरोकार

राजधानीमा मात्रै ४० हजार बढी संक्रमित- सुरक्षा शतर्कताका लागि के गर्दैछ प्रशासन ?

कोरोना संक्रमणको उच्चस्तरमा बढिरहेको नेपालमा यतिबेला काठमाडौं उपत्यका सर्वाधिक जोखिममा छ । देशभर थपिएका संक्रमितमध्ये आधाभन्दा बढी उपत्यकामै रहेकाले दशैं, तिहार र छठपछि अरु बढ्ने र त्यतिबेला उपत्यका लगायत शहरी क्षेत्र मात्र हैन गाउँघरमा समेत संक्रमण व्यापक हुने चिन्ता व्यक्त भैरहेको छ ।

अहिले जसरी संक्रमणको दर बढिरहेको छ यसले दशैंमा निषेधाज्ञा हुने आँकलन धेरैको छ । सरकारले अब सबैतिर निषेधाज्ञा वा लकडाउन नगर्ने र स्थान विशेषमा निषेध गर्ने बताइरहे पनि काठमाडौं उपत्यकामा चक्रपथ भित्र र बाहिर चारैतिर समुदायस्तरमा संक्रमण फैलिएकाले स्थिति अरु भयावह हुने चेतावनी विज्ञहरुले दिइरहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार उपत्यका तीन जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ४० हजार नाघेको छ भने सक्रिय संक्रमितको संख्या १४ हजारभन्दा बढी छ । त्यस्तै मृत्यु हुनेहरूको सङ्ख्या भने १ सय ९२ छ ।

यस्तो स्थितिमा नजिकिंदो दशैं, तिहार र छठ जस्ता व्यापक रुपमा पारिवारिक भेटघाट हुने र भीडभाड हुने चाडपर्वले अरु जोखिम थप्ने निश्चित छ । चाडबाड मान्न गाउँघर जानेहरुको भीड सुरु भैसकेकाबेला अबको एक हप्तामा सुरु हुने पर्वअघि के हुन्छ भन्ने विषयमा चासो बढेको छ ।

सरकारले कोरोना संक्रमणको रोकथामका लागि चाल्नुपर्ने उपायका अधिकार स्थानीय प्रशासन र निकायलाई दिएपछि अहिले सबैको ध्यान उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुतिर सोझिएको छ । तर उपत्यकाका तीन जिल्लाका अधिकारीहरू हाल पर्ख र हेरको अवस्थामा देखिन्छन् ।

साप्ताहिक रूपमा दुईदेखि तीन दिनसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक भइरहेको भए पनि निषेधाज्ञाका विषयमा भने छलफल केन्द्रित नभएको उनीहरू बताउँछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आफूहरु अहिलेको अवस्थाका समीक्षा गरिरहेका र विज्ञहरूसँग पनि परामर्श गरिरहेका बताउनुभएको छ । उहाँ अत्यावश्यक सेवा मात्रै सञ्चालनमा राखेर अरू सेवा स्थगन गर्ने हो कि भन्ने सोचमा रहे पनि लकडाउन नै गर्ने नगर्ने विषयमा कुरा नभएको बताउनुहुन्छ ।

दाहालका अनुसार संक्रमण व्यापक भएका स्थानहरुमा क्षेत्रगत रूपमा लकडाउन पनि गर्न सकिन्छ । त्यो भनेको कुनै वडा वा टोलको अवस्था हेरेर प्रतिबन्धात्मक व्यवस्था कायम गर्ने हो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि सरोकारवालाहरूसँग परामर्श भइरहेको र अबको केही दिनमा यस विषयमा स्पष्ट पार्न सकिने बताउनुभएको छ ।

उता भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे चाडबाडका बेला सुरक्षा लगायतका अन्य विभिन्न विषयबारे प्रबन्ध गर्नुपर्ने हुँदा आफूहरू निरन्तर सम्पर्कमा रहेको बताउँदै यस्तै अवस्था रहे हालको योजना समीक्षा गर्नुपर्ने र आफूहरुले अवस्थाबारे जानकारी सम्बन्धित निकायहरूलाई गराइरहेका बताउनुभयो ।

त्यसो त अब कोरोना संक्रमण रोक्ने उपाय लकडाउन मात्रै नभएको जनस्वास्थ्यविद बताउँछन् । जनस्वास्थ्यविद् डा शरद वन्तका अनुसार जनघनत्व बढी भएका स्थानमा सङ्क्रमण बढेको छ र त्यस्ता ठाउँमा सङ्क्रमण समुदायमा स्थापित भइसकेको पाइन्छ । हामीसँग रोक्न सक्ने विधिको प्रभावकारी कार्यान्वयन भयो भने यही अवस्थामा सङ्क्रमण कम गराउन सक्छौँ ।

उहाँ भन्नुहुन्छ लकडाउन मात्रैले सङ्क्रमण रोकिने भए अहिले यसरी फैलिने नै थिएन । यसको सबैभन्दा बढी जिम्मेवार नागरिकहरूमा छ । नेपालमा ८ महिनाको बीचमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ भने सक्रिय संक्रमित आइतबार साँझसम्म ३१ हजारभन्दा बढी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.