जन सरोकार

अरिङ्गालको टोकाइ र गोरुको आक्रमणबाट दुईजनाको मृत्यु

आइतबार खोटाङमा अरिङ्गालको टोकाइबाट एकजना र सल्यानमा गोरुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । समाचार अनुसार अरिङ्गालको टोकाइबाट गम्भिर घाइते बनेका एक युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अरिङ्गालले टोकेपछि उद्धार गरेर बेहोस अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिनुभयो ।

घाँस/दाउरा गर्न जङ्गल गएका राईलाई शनिबार दिउँसो करीब ४ः०० बजेको समयमा रुखमा गोला भएको अरिङ्गालले टोकेर घाइते बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।

शरीरका विभिन्न भागमा अरिङ्गालले टोकेर गम्भीर घाइते बनेका राईलाई स्थानीय बासिन्दाले बेहोस अवस्थामा फेला पारेर उपचारका लागि जिल्ला अस्पताल ल्याएका थिए । उपचारका क्रममा ज्यान गुमाएका राईको शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यसै गरी सल्यानको शारदा नगरपालिका–११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको गोरुको आक्रमणबाट मृत्यु भएको हो । बारी जोत्ने क्रममा शुक्रबार रावतलाई आक्रमण गरी गम्भिर घाइते बनाएकामा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो । गोरुको आक्रमणबाट घाइते भएकी ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.