एनआरएनए युके टुक्र्याए नेपलिज युथले कडा प्रतिकार गर्ने
नेपलिज युथ यूकेले एनआरएनए यूकेको नाममा आगामी १८ अक्टोबरमा गर्ने भनिएको विशेष साधारणसभाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यदि संस्था टुक्र्याए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

युथका अध्यक्ष धिरज राई र महासचिव खगेन थापामगरले सोमबार एक विज्ञप्ति जारी गर्दै अवैधानिक रऔचित्यहीन भेला वहिष्कार गर्न बेलायतस्थित समस्त नेपाली युवालाई अपिल पनि गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘वैधानिक रुपमा जननिर्वाचित अध्यक्ष प्रेम गाहामगर भएको सर्वविदितै छ । उहाँको कार्यकाल अझै ११ महिना बाँकी रहँदा अध्यक्षलाई नै वाइपास गरी केही समूहले विशेष साधारणसभा गर्न लागेकोप्रति हाम्रो कडा आपत्ति छ’ ।
विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता असंवैधानिक र औचित्यहीन भेला वहिष्कार गर्न बेलायतस्थित समस्त नेपाली युवालाई हामी यसै विज्ञप्तिमार्फत अपिल गर्दछौं । ‘
त्यसै गरी विज्ञप्तिमा ११ औ साधारण सभा तथा संघसंस्था प्रतिनिधि सभाले बर्खास्त गरेका पूर्व महासचिव खुशी लिम्बू र आर्थिक घोटाला आरोपित छानविन समितिको प्रक्रियामा रहेका उपाध्यक्ष सुनिल बाबु खड्काद्वारा संप्रेसित इमेल अवैधानिक र भ्रामक रहेकोले यो समाचारलाई वास्ता नगर्न पनि अनुरोध गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा निर्वाचित अध्यक्ष र कार्यसमिति हुँदाहुँदै सामाजिक सद्भाव र आपसी एकता खलबल्याउन उद्यत समूहको भण्डाफोर गर्दै चेतावनी सहित कथित अधिवेशन रोक्न आफ्नो तर्फबाट हरदम प्रयास रहने पनि अवगत गराइएको छ ।
युथले आफूहरुको आग्रहलाई वेवास्ता गर्दै अधिवेशनको प्रपञ्च रचिए त्यसबाट आउने प्रतिकुल परिणामप्रति संस्था जिम्मेवार नरहने चेतावनी समेत दिइएको छ ।
नेपालीज युथ युकेका प्रवक्ता गजेन्द्र गुरुङका अनुसार विज्ञप्तिमा अन्तराष्ट्रिय समन्वय परिषदलाई एनआरएनए यूके अध्यक्ष गाहामगरको अनुमति बिना गत २८ जुलाईमा ३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स संस्थाको रकम लुटपाटको शैलीमा झिकेर पठाइएको भन्दै सो रकम फिर्ता नल्याइए कानुनी लडाईंमा अग्रमोर्चामा आउन वाध्य हुने चेतावनी पनि दिइएको छ ।
यही १४ देखि २० अक्टोबरसम्म नेपालमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्न बेलायतबाट जान लागेका ५४ जना युवा खेलाडीलाई विचल्ली पारेको भन्दै आपत्ति जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्