राजनीति

प्रधानमन्त्री देउवाको मतदाता नामावलीमा छपाई गल्तीका कारण जन्ममिति फरक : आयोग

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकताको जन्ममिति र मतदाता नामावलीको जन्ममिति फरक पर्नुमा छपाई गलती भएको प्रष्टिकरण दिंदै उहाँ उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज गरिदिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो ।

कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ र मतदाता नामावलीमा जन्ममिति ३१ जेठ २००२ लेखिएको छ ।

प्रधानमन्त्री देउवाले यसको जवाफ पेश गरेपछि डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको बताउँदै उजुरी खारेज गरिएको जानकारी दिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत वाग्लेले भन्नुभयो, ‘नागरिकता अनुसार नै हुनुपर्ने उहाँको जन्ममिति मतदाता परिचय पत्र र मतदाता नामावलीमा टाइप गर्दा गलत भएको रहेछ ।’

जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.