आम निर्वाचन २०७९

सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा सम्लग्न भएपछि आयोगको कारबाही सुरु

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ ।

त्यसरी प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरूका प्रचार सामग्रीको शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको अनुगमन र कारबाहीको प्रबन्ध रहेको छ ।

आयोगले त्यस्ता कर्मचारीलाई स्पष्टीकरणको मौका दिइ दोषी देखिएमा सचेत, विभागीय कारबाही वा निलम्बनसम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई आदेश दिनसक्ने उक्त दफामा उल्लेख छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको आचारसंहिताको अनुगमनका लागि आयोगमा रहेको अनुगमन समितिको अनुगमनका क्रममा ती कर्मचारीले पालन गर्नुपर्ने आचरणको उलङ्घनका घटना भेटिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

सोही दफाको (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।

आचारसंहिताको दफा ९ मा निर्वाचनको काममा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण, दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचारण तोकिएको छ ।

त्यस्तै दफा, ११ मा सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारण र दफा १२ मा गैरसरकारी संस्था, विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ती कर्मचारीले आचारसंहिताको प्रतिकूल हुनेगरी कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुन ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.