प्रबास

प्रवासी नेपाली मञ्च युकेको नेतृत्व परिवर्तन

प्रवासी नेपाली एकता मञ्च युकेको विस्तारित बृहद बैठकले राष्ट्रिय कार्यकारिणी कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । अल्डरसर्ट स्थित एम्पाएर हलमा प्रवासी नेपाली मञ्च युकेको केन्द्रीय कार्यसमितिको सम्पन्न विस्तारित बृहद बैठकले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष रहेका सुरेन्द्र थपलियालाई चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षहरूमा तुङ्गभद्र भुषाल र सरस्वती केसीलाई बढुवा गरेको छ । यस अघि अध्यक्ष भक्त गुरुङ प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष विनोद ज्ञवाली युरोप कमिटीका उपाध्यक्ष भई माथिल्लो कमिटीको जिम्मेवारी सम्हालेकाले बैठकमा उक्त पदहरूबाट मुक्त भएको जानाकारी गराइएको थियो ।

यसै गरी उपाध्यक्षहरू तङ्गभद्र भुषाल र सरस्वती केसीलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा बढुवा गरिएको छ भने उपाध्यक्ष विजयविक्रम लिङ्देल, केन्द्रीय सदस्यहरू सरोज खनाल र कल्पना त्रिपाठी युरोपियन कमिटीको सदस्य हुनु भएकाले उक्त रिक्त पदहरूमा पछि पूर्ति गरिने जानकारी बैठकमा गराइएको थियो ।

विस्तारित बृहद बैठकमा प्रमुख अतिथि नेकपा एमालेका विदेश विभाग प्रमुख प्रवास इन्चार्ज डा. राजन भट्टराईले शुभकामना सम्वोधन भर्चुअलरूपमा नेपालबाट गर्नु भएको थियो भने विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका महासचिव रमेश पाण्डेले अष्ट्रेलियाबाट शुभकामना सम्वोधन गर्नु भएको थियो ।

समारोहमा विशेष अतिथिहरू अन्तराष्ट्रिय कमिटीका सदस्य कर्ण शाही, युरोप कमिटीका अध्यक्ष गोविन्द पौडेल, पूर्व अध्यक्षहरू दिनेश घिमिरे र रामशरण सिंखाडाले सम्वोधन गर्नु भएको थियो ।

यस अघि अध्यक्ष भक्त गुरुङको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थपलियाको स्वागत भाषण रहेको समारोहमा संस्कृति तथा सम्पदा विभाग प्रमुख वरिष्ठ उपाध्यक्ष विनोद ज्ञवालीले दशैँको शुभकामना दिनु भएको थियो ।

समारोहमा संगठनको नीतिगत प्रतिवेदन अध्यक्ष भक्त गुरुङबाट कार्य प्रगती प्रतिवेदन महासचिव सुरेशजङ्ग शाहबाट र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुण्य रेग्मीबाट प्रस्तुत भएका प्रतिवेदनहरू बैठकले पारित गरेको थियो ।

बैठकले रूपन्देहीको मोतिपुरमा सुकुम्वासीहरुमाथि चारजनाको ज्यान जाने गरी प्रहरीबाट चलाइएको गोली काण्डको भत्सर्ना र सरकारको बर्बर्तापूर्ण दमन नीतिप्रति खेद प्रकट गर्दै पीडित परिवारप्रति सहानुभूति र न्यायको प्रस्ताव पारित गरेको थियो ।

भौतिक उपस्थिति र भर्चुअल उपस्थिति दुबै प्रकारको सहभागिताको व्यवस्था मिलाइएको उक्त विस्तारित बृहद बैठकमा केन्द्रीय कमिटी र बेलायतभरिका ६ वटै क्षेत्रीय कमिटीहरूबाट भौतिक तथा भर्चुअल सहभागितारहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.