जन सरोकार

डुबानका कारण धनगढी विद्युत कार्यालयमा काम ठप्प

वर्षापछि जलमग्न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ । कार्यालय परिसरमा तीन/चार फिटसम्म पानी जमेको छ ।

दशैँको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र परिसरमा पानी जमेका कारण अझै काम सुरु हुन नसकेर ठप्प रहेको हो ।

विद्युत् महसुल बुझाउन आज कार्यालय पुगेका सेवाग्राहीहरू कार्यालय बन्द देखेपछि महसुल नबुझाई फर्किरहेका देखिन्थे ।

डुबानमा परेको कार्यालयमा महसुल बुझाउन नपाई फर्किरहेका सेवाग्राही माया भट्टले पानी निकासका लागि उचित व्यवस्था गर्न नसकेर कार्यालयको काम ठप्प पार्नु लाचारीपन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरणको कार्यालय डुबानमा परेको पाँच दिन हुँदासम्म पनि निकासका लागि पहल नहुनु धनगढी उपमहानगरपालिकाका प्रमुख र विद्युत् प्राधिकरणका प्रमुखको अक्षमता हो ।”

वर्षायाममा सो कार्यालयमा जम्ने पानी निकासका लागि गत वर्ष उपमहानगरपालिका कार्यालयको पहलमा विद्युत् कार्यालय नजिकको सडकमा ह्युमपाइप बिछ्याइएको थियो । तर ह्युमपाइपबाट जमेको पानी निकास हुन नसकेको प्राधिकरणका कर्मचारीले बताएका छन् ।

दशैँ बिदामा घर जानुभएका वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डल अझै कार्यालयमा फर्किनु भएको छैन । केन्द्रका निमित्त प्रमुख रोशनकुमार ठाकुरले कार्यालयमा देखिएको डुबानको समस्याबारे जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका र विद्युत् प्राधिकरणको अत्तरियास्थित प्रादेशिक कार्यालयमा जानकारी गराइएको बताउनुभयो ।

“जमेको पानीको निकासको व्यवस्था सम्बन्धित निकायले गरिदिनुपर्ने हो”, उहाँले भन्नुभयो, “डुबानले कार्यालयका कार्यकक्षमा पानी जमेकाले महसुल बुझ्ने काम, नयाँ ग्राहकको काम, मिटर रिडिङलगायतको काम बन्द छ ।”

कार्यकक्षमा पानी जमेकाले बसेर काम गर्नसक्ने अवस्था नरहेको र जमेको पानीमै काम गर्दा विद्युत् प्रवाहको जोखिम देखिएकाले कार्यालयको कार्यकक्षमा विद्युत् प्रवाहसमेत बन्द गरिएको छ ।

सेवाग्राहीका घर, पसल, उद्योग, कलकारखानामा भने विद्युत् आपूर्ति नियमिति रहेको निमित्त प्रमुख ठाकुरले बताउनुभयो ।

“डुबानका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था आउँदा काम अझै सुरु हुन सकेको छैन”, अर्का एक कर्मचारीले भन्नुभयो, “जमेको पानीको निकासका लागि आजसम्म कसैबाट पहल भएको छैन ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.