जल/वातावरण

पश्चिमी क्षेत्रमा आज विहानबाट लाग्यो घाम

बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा बुधबार बिहानैदेखि घाम लागेको छ । झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना भने हटेको छ । पश्चिमी क्षेत्रका पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम हुनसक्ने पनि मौसमविद्हरुले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज, बिहीबार र शुक्रबार दिउँसो तथा बेलुकाको समयमा मौसम बद्ली भई क्षणिक वर्षा हुन सक्नेछ ।

आउँदो शनिबारदेखि भने पश्चिमी क्षेत्रसहित देशभरको मौसम पूर्ण रुपमा खुला रहने सो महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको अन्तिमतिर भएको ठूलो वर्षाका कारण यसपटक पश्चिमी क्षेत्रमा धेरै असर परेको छ ।

नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात् १६ गतेसम्म मात्रै रहने भनिए पनि त्यसको एकदुई दिनपछि ठूलो पानी पर्न थालेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.