जन सरोकार

५० करोड मूल्यको जग्गा किर्ते कागज बनाएर विक्री

पर्साको वीरगञ्ज महानगरपालिका ५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको पाँच कठ्ठा १५ धुर जग्गा किर्ते कागज बनाई विक्री भएको खुलासा भएको छ । उक्त जग्गाको मूल्य झण्डै रु ५० करोड रहेको जनाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार ति व्यक्तिले आफ्नो नागरिकता समेत नक्क्ली बनाई किर्ते कागजातका आधारमा अर्काको जग्गा हाता पारेर तेस्रो व्यक्तिलाई बिक्री गरेको पाईएको हो । सो किर्ते काममा ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबरा रहेको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार उनले मुकेश राजभण्डारी नामको नक्कली नागरिकता बनाएर किर्ते गरेको खुल्न आएको छ । मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतोमा जग्गा धनी तथा निजको हकवाला समेतको हक मारी अर्काको जग्गा किर्ते कागजात बनाई गत फागुन १९ गते आफ्नो नाममा पास गरेका थिए । त्यसपछि उक्त जग्गा पर्सा कै गिरधारी लाल अग्रवाललाई बिक्री गरी रु ५० लाख बैना लिएको फेला परेको छ । त्यसपछि घटना बाहिर आएको हो ।

स्थानीय राजीव राजभण्डारीले लिखत र ठगी सम्बन्धी मुद्दामा जाहेरी दरखास्त दिएपछि व्यूरोले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा ललितपुर महानगरपालिका १३, कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबराले आफ्नो नाम मुकेशराज भण्डारी राखेर किर्ते गरेको पाइएको हो । उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट किर्ते नागरिकता समेत बनाएको पाइएको छ ।

खोजीका क्रममा उनलाई काठमाडौँको रातोपुलस्थित डेराबाट आइतबार पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको व्यूरोका प्रमुख थापाले जानकारी दिनुभयो । प्रहरीले यसअघि पनि उनलाई विभिन्न कसुरमा मुद्दा चलाएको जनाइएको छ ।

बैंकिङ कसुरका फरार पक्राउ

बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको जेठ ३० गतेको फैसलाले १५ दिन कैद र ३४ लाख जरिवाना ठहर भएर फरार रहेका गोरखाका राजेशबाबु श्रेष्ठलाई पक्राउ गरिएको छ । उनलाई चितवनको रत्ननगरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

उनले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता दिन चेक काटेर बैंकिङ कसुर गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.