राजनीति

वामदेव कामरेडको महत्वाकांक्षा र तासमा बाजी मार्ने जोकर

महेन्द्र चालिसे

व्यक्तिको आकांक्षा बढाइदिएपछि उ कति महत्वाकांक्षी हुन्छ भन्ने उदाहरण हामी कामरेड वामदेव गौतममा देख्न सक्छौ । २०५१ सालमा एमालेको अल्पमतको सरकार गठन हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी (मानको खातिर मानको रुपमा एमालेको अध्यक्ष र प्रधानमन्त्री बनाइएको) जीलाई अंकुश लगाउन तत्कालीन एमालेका महासचिब माधवकुमार नेपाल उपप्रधानमन्त्री भएपछि एमालेको बिधान मै नभएको पद “उपमहासचिव” सृजना गरेर वामदेवलाई पार्टी जिम्मा दिईयो र उनी एमाले पार्टी हाँक्न थाले ।

दुर्भाग्यवश अर्कोतिर गिरिजाको बढी महत्वाकांक्षाको कारण एमालेको अल्पमतको सरकार ९ महिनामै ढल्यो । सरकार ढलेपछि माधव नेपाल पुनः महासचिवकै पदमा फर्किए र वामदेवको उपमहासचिव पद खोसियो । त्यहाँदेखि वामदेव पार्टीभित्र आफ्नो सकृय अस्तित्व र भूमिका खोज्न थाले तर, पाएनन् ।

बिस्तार एमालेभित्र गुट तयार हुन थाल्यो र उनीहरुको भाषामा भन्दा अन्तर पार्टी संघर्ष चल्न थाल्यो । लगभग त्यही ताका महाकाली सन्धिको समर्थन र विरोध चुलिएको थियो र एमालेमा प्रत्यक्ष २ धार देखिन थाल्यो । एकधार देशलाई अर्बौ फाइदा (देशलाई त के हुन्थ्यो तर त्यो धारलाई चाही अर्बौ फाइदादेखि भारतीय प्रभुको आशीवाएद लाग्यो) हुन्छ भन्नेर समर्थन गर्ने, अर्कोधार देशलाई फाइदा हुन्न (सायद आफूलाई कुनै भाग आउदैन भनेर पो हो कि) भनेर बिरोधमा उत्रियो र नतिजा एमाले फुटेर माले भयो ।

यसरी एमालेबाट माले हुनुमा पनि वामदेव कामरेडको महत्वाकांक्षाले बढी काम गरेको देखिन्छ । माले महासचिव बनेर २०५६ को निर्वाचनमा होमिएका वामदेवको मालेले एक सिट पनि जित्न सकेन । अन्ततः उनी माले छाडेर एमाले फर्किए । मालेमा आफ्नो महत्वाकांक्षा पूर्ति नहुने देखेपछि उनी जुन तामझामका साथ पुनः एमाले प्रवेश गरे त्यस्ले यही संकेत गर्दछ ।

अहिले उनको महत्वाकांक्षा यति बढिरहेछ कि कहिले उनलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधनका कुरा उठाउछन् त कहिले अर्थमन्त्री बनाएमा बिकासको लहरै ल्याउँछु भन्छन् ।

तर, एउटा कुरा के चाहिं साँचो हो भने दलमा उनको रोल तासको जोकरको जस्तै चाहिं छ । जसरी तासमा बाजी मार्न जोकर स्विक्वेन्समा जोडिन्छ त्यसै गरी नेकपाभित्र रहेका गुटहरुमा जता वामदेव जोडिन्छन् त्यस्ले बाजी मार्छ ।

यसको परिणाम दिन प्रतिदिन वाममदेव कामरेडको ब्यक्तिगत महत्वाकांक्षा क्रमशः बढ्दै बढ्दै जान्छ जसले कुनै दिन कि त उनी खाल्डामा जाकिनेछन् कि त दल खाल्डोमा जाकिनेछ ।

अस्तु !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.