राजनीति

सबै उम्मेदवार देशभक्त छैनन्, छानेर जिताउनु होला

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाउन विभिन्न कोणबाट षड्यन्त्र भएको र त्यसमा अध्यक्ष केपी ओलीले अन्यायपूर्ण र स्वेच्छाचारी निर्णय गरेको आरोप लगाउनुभएको छ ।

अछाम क्षेत्र नं. १ बाट एकल सिफारिश भए पनि पार्टीले रावललाई टिकट नदिएपछि आज बिहिबार पत्रकार सम्मेलन गर्दै नेता रावलले अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको, सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिएर पार्टी पदाधिकारी र ओलीले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत रहेको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनमा डा. रावलले आफूलाई हराउन नसक्ने जानकारी पाएपछि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको आरोप लगाउँदै भन्नुभयो- “मेरो उमेदवारीबारे कुनै छलफल नै नगरी अध्यक्षले एमालेका निम्ति एक योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो । प्रथम दृष्टिमा नै स्वेच्छारी र अन्यायपूर्ण छ” ।

त्यसै गरी टिकट वितरणअघि १० भाइले आत्मालोचना नगरेसम्म टिकट नदिने भन्दै गरिएको प्रचार, भीम रावलले चुनाव हार्छन् भन्दै गरिएको दुष्प्रचारको कडा आलोचना गर्नुभएको छ ।

उहाँले टिकटका लागि माफी माग्नुपर्ने भए महाधिवेशन, पार्टीका बैठकमा किन कुरा नउठाइएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “कसैले आत्मालोचना गर्नुपर्ने वा माफी माग्नुपर्ने थियो भने, कसैलाई दण्डित गर्नुपर्ने थियो भने विधान महाधिवेशन, दशौँ महाधिवेशनमा किन कुरा नउठाएको त ? अहिले कथित पार्टी विभाजनको कुरा कोट्ट्याएर रगत–पसिना बगाएका पार्टीका कैयौँ प्रतिबद्ध कार्यकर्तालाई टिकटबाट वञ्चित गरियो” ।

त्यसै गरी डा. रावलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवार हुने ढोका खुला भए पनि त्यसो नगरेको स्पष्ट गर्दै पार्टीका उमेदवारहरू सबै देशभक्त नभएको आरोप लगाउँदै देशभक्तहरुलाई मात्र चुनाव जिताउन अपील गर्नुभयो ।

उहाँले एमाले छाडेर सत्ता गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसाललाई समर्थन गर्दै भुसाल सिफारिस भएको ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई टिकट दिइएपछि विद्रोह गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

भुसालले रुपन्देही क्षेत्र नम्बर–३ बाट टिकट नपाएपछि एमाले त्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उमेदवारी दिनुभएको छ । यस सन्दर्भमा डा. रावलले त्यो उहाँको त्यो स्वतन्त्रताको कुरा भएको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेता डा. रावलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले सार्वजनिक गरेको चुच्चे नक्सा पनि आफ्नो दवावबाट आएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “भारतले लिम्पियाधुरामा सडक बनाउन थालेपछि आफूले नै लिपुलेक, कालापानी र लिम्पियाधुरी समेटेर नक्सा निकाल्न माग गरेको र यसका लागि सडक र पार्टी सचिवालयबाट समेत दवाव दिएपछि नक्सा पारित भयो ।”

आफ्नो उम्मेद्वारी रोकिनुमा संसदमा राष्ट्रिय सम्मान, एकता, स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा उठ्ने आवाज रोक्न देशी विदेशी शक्तिको चलखेल रहेको समेत डा. रावलले पत्रकार सम्मेलनमा खुलासा गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.