आम निर्वाचन २०७९

बदर मत कम गर्न सप्तरीमा नमूना मतदान

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि सप्तरीको राजविराजमा आज नमूना मतदान गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोगी समाजले नमूना मतदान गरेको जानकारी दिएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालका कार्यक्रम संयोजक सिमरन शेरचनले विभिन्न जिल्लामा नमूना मतदान र साक्षरता कार्यक्रमअन्तर्गत राजविराजमा कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले बदर मत कम गर्न र मतदानको महत्व बुझाउन प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएर सहभागीलाई गाउँघरमा सचेतना फैलाउन निर्देशन दिइएको बताउनुभयो ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन, मतपत्र पट्याउन र मतपेटिकामा मत खसाल्न सिकाइएको थियो ।

प्रत्येक मतदाताले चारवटा मतपत्रमा आफूले रुचाएको उम्मेदवार र दललाई मत खसाउन सिकेको सहभागी खडक नगरपालिका–६ की नन्दनी चौधरीले बताउनुभयो ।

पहिलो हुने निर्वाचित हुनेतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र र समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र गरी चारवटा मतपत्रमा एक–एकवटा चुनाव चिह्नमा मतदान गर्नुपर्ने कुरा सिकेको कञ्चनरुप नगरपालिका–५ का विवेक विकले जानकारी दिनुभयो ।

सहजकर्ता सविन बुढाथोकीले प्रतिनिधिसभा र प्रदेशसभाको गठन, मतदानको महत्व, मनोनयन, मतदान र मतगणना प्रक्रिया, सदर र बदर मतका बारेमा प्रशिक्षण दिनुभयो । प्रशिक्षणपश्चात प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गराइएको हो ।

नमूना मतदानमा सहभागी ४० जनामध्ये पहिलो हुने निर्वाचित हुने मतदानमा तीन जनाको मत बदर भएको र समानुपातिकमा शतप्रतिशत मत सदर भएको स्थानीय परिचालक रोशन चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.