अर्थ

स्वदेशी जुत्ताचप्पललाई चोरी चोरी पैठारीको मार

नेपालमा जुत्ताचप्पलको मागको ठूलो अंश स्वदेशी उत्पादनले धान्ने गरेको छ । यद्यपि वार्षिकरूपमा ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका छन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले आज पत्रकार सम्मेलन गरी वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो ।

पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष नानीराज घिमिरेले चोेरी पैठारीबाट करोडौँ जोर जुत्ताचप्पको आयात हुँदा नेपालमा उत्पादित जुत्ताचप्पलले बजार पाउन छाडेको बताउनुभयो ।

“देशको मागलाई धान्न सक्नेगरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्नसक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रितरूपमा दक्षिणतिरको खुला सीमाबाट चोरी पैठारी र न्यून बिजकीकरणका कारण नेपाली व्यवसायी मारमा परेका छन्”, उहाँले भन्नुभयो ।

एशोसियशनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा पाँच करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन भएको थियो भने विदेशबाट दुई करोड ५९ लाख ८७ हजार एक सय ६३ जोर आयात भएको थियो ।

यस्तै दुई करोड २५ लाख १२ हजार आठ सय ३७ जोर जुत्ताचप्पल चोरी पैठारीबाट आएको छ । एक तिहाइ महिलासहित करिब ५५ हजार श्रमिक कार्यरत रहेको जुत्ताचप्पल उद्योग नेपालमा एक हजार पाँच सयभन्दा बढी रहेको अध्यक्ष घिमिरेको भनाइ छ ।

आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट रु एक अर्ब ८८ लाख ३४ हजार एक सय १७ बराबरको जुत्ताचप्पल निर्यात भएको थियो ।

एशोसियशनका उपाध्यक्ष सुरज बञ्जाडेले रु ३० अर्ब व्यवसायीको लगानी र रु चार अर्बभन्दा माथि बैंक लगानी रहेको नेपालको जुत्ताचप्पल क्षेत्रलाई बचाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्सार नाकामा गस्ती बढाउनका साथै सीमा नाका रहेका जिल्ला प्रशासन प्रमुखलगायत राजस्व अनुसन्धान कार्यालयले बढी सक्रियताका साथ चोरीपैठारी नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सबै सरकारी निकायमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा नेपालमा उत्पादित जुत्ताचप्पल प्रयोग गर्न एशोसियशनले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.