जन सरोकार

स्थानीय र प्रहरी झडपमा दुई डिएसपी, एक सशस्त्र प्रहरी निरीक्षकसहित २२ जना घाइते

सर्लाहीमा एक दलित व्यक्तिको हत्याको विषयलाई लिएर सर्लाहीका सांसद अमरेश कुमार सिंह नेतत्वमा प्रहरी कार्यालय घेराउ गर्न गएको समूह र र प्रहरीबीच झडप हुँदा दुई डिएसपीसहित २२ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय घेराउ गर्न गएको समूहसँगको झडपमा परी जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहठवाका डिएसपी उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित २२ प्रहरी घाइते भएका हुन् ।

जिल्लाको सिसौटमा गत असोज २१ गते बारीमा घिरौंला टिपेको विषयमा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो । स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा ६५ वर्षीय महेन्द्र घाइते भएका थिए ।

उनको उपचारको क्रममा वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा भोलिपल्ट २२ गते मृत्यु भएको थियो । मृत्युपछि आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन् ।

उक्त घटनामा एक महिला र दुई पुरुष पक्राउ परेका छन् तर, आन्दोलनकारीले भने अन्य ९ जनाको नाम पनि समावेश गरेर जाहेरी दरखास्त दर्ता गर्नुपर्ने दबाब दिएका छन् । ती अन्य नाम भने घटनामा संलग्न नभएकाहरूको रहेकाले जाहेरी दर्ता गर्न नसकिने प्रहरीले बताउँदै आएको छ ।

यसैको बिरोधमा आन्दोलित स्थानीय बुधबार प्रहरी कार्यालय घेराउ गर्न सांसद अमरेशकुमार सिंहसहितको समूह पुगेको थियो । त्यस क्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।

कुँवरको छातीमा चोट लागेको छ भने भाटको हातका औंलाहरू भाँचिएका छन्। उनीहरूसहित अन्य प्रहरीको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय घेराउका क्रममा ढुंगा प्रहार हुँदा प्रहरी कार्यालयका सिसाहरू फुटेका छन् । सशस्त्र प्रहरीका १८ वटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएका छन् । सयौं मानिसले घेराउ थालेपछि सशस्त्र प्रहरी बलबाट डिएसपी सरोज खड्काको नेतृत्वमा एक सय प्रहरी मद्दतका लागि बोलाइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.