राजनीति

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।

बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिनुभएको हो । उहाँले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ ।

ट्वीटमा उहाँले लेख्नुुभएको छ ‘‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’’

दक्षिण एसियाली क्षेत्रमा नेपाल फुटबलमा सँधै सशक्त टिमको रुपमा रहे पनि साफ च्यामिपयन्सिपको १२ औं संस्करण सकिँदा पनि नेपालले यस प्रतियोगिताको फाइनल खेल्न सकेको थिएन । तर माल्दिभ्समा भइरहेको १३ औँ साफ च्याम्पियन्सीपमा भने नेपाली फुटबल टिमले फाइनल यात्राको सूत्र पत्ता लगाउन सफल भएको छ ।

नेपालले बुधबार तनावपूर्ण खेलमा बङ्गलादेशलाई १–१ ले बराबरीमा रोकेर पहिलो पटक दक्षिण एसियाको सबभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियन्सीपको फाइनलमा पुगैर इतिहास बनायो । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा अन्जन विष्टले पेनाल्टीमा गोल गरेपछि मात्र नेपाल नाटकीय रुपमा उपाधि भिडन्तमा पुग्न सफल भएको हो ।

नेपालको जितमा दुई निर्णायक मोड

साफ च्याम्पियन्सीपमा नेपालले सुरुका दुई खेलमा माल्दिभ्स र श्रीलङ्कालाई हराएर फाइनलको यात्रा सहज बनाएको थियो । पछिल्लो खेलमा नै भारतलाई बराबरीमा रोकेमा नेपाल फाइनलमा पुग्ने तय थियो । भारतविरुद्ध नेपालले अति डिफेन्सिभ खेल्यो । जसअनुसार भारतलाई खेलको ८२ औँ मिनेटसम्म रोक्न नेपाल सफल पनि भयो । तर निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा सुनील क्षेत्रीको गोलले भारतविरुद्धको खेल हारेपछि नेपालले फाइनलखेल्ने बङ्गलादेशसँग कम्तिमा एक अङ्क निकाल्नुपर्ने समीकरण बनेको हो ।

बङगलादेशसँग हार टारेमा फाइनलको लागि योग्य बन्ने नेपालले खेलको आठौँ मिनेटमा नै गोल वेहोरेपछि भने नेपाली समर्थकको ढुकढुकी बढेको थियो । जमान भुँयाको क्रसमा गोलपोस्ट नजिक विना निगरानीमा रहेका सुमन रेजाले हेडमार्फत गोल गरेपछि नेपाल पछाडि परेको हो ।

सुरुमै गोल वेहोरेपछि नेपालले आक्रमक रणनीति अपनायो । यद्यपि गोल प्राप्त गर्न सकिरहेको थिएन । खेलको १५ औँ मिनेटमा नै ओभरल्यापमा आएका गौतम श्रेष्ठले दिएको पासमा गोलपोस्टबाट छ गजमा रहेका रोहितले गोल गर्ने सजिलो अवसर गुमाउनुभयो । खेलको ३२ औँ मिनेटमा आयुष घलानले पनि गोल गर्ने अवसर गुमाउनुभयो । उत्तराद्र्धको सातौँ मिनेटमा आयुषले नै छ गजको दुरीबाट हेड गरेको बललाई बङ्गलादेशका गोलरक्षक अनिसुर रहमानले उत्कृष्ट ढङ्गले बचाउँदा नेपालसमक्ष रहेको दबाब कायम रह्यो । खेलको ७० औँ मिनेटमा रोहितको प्रहार गोलपोस्ट नजिकबाट बाहिरयो ।

उता खेलको ५५ औँ मिनेटमा प्रत्याक्रमणमा गोलकर्ता सुमनले वनभर्सेज वनमा गरेको प्रहारलाई किरण चेम्जोङले विफल नपारेको भए नेपालको चुनाती लगभग समाप्त भइसक्ने थियो ।

नेपालले खेलमा फर्किन दुई निर्णायक मोड आए । खेलको ७९ औँ मिनेटमा बङगलादेशका डिफेन्डरको ब्याक पास गलत बनेपछि अन्जनले बल प्राप्त गर्नुभएको थियो । सो बललाई जोगाउन गोलपोस्ट बाहिर आएका बङ्गलादेशी गोलरक्षक रहमानले हातले बल रोकेपछि रेफ्रीले सीधै राता कार्ड देखाए । त्यसपछि एक खेलाडीको फाइदामा खेलेको नेपालले खेलको ८६ औँ मिनेटमा अर्को निर्णायक मोड प्राप्त गर्यो । बङगलादेशी डिफेन्डरले डिबक्समा अन्जनलाई अनावश्यक रुपमा लडाएपछि नेपालले पेनाल्टी प्राप्त गर्यो । अन्जनले सो पेनाल्टीलाई गोलमा परिणत गर्नुभयो र सोही गोलले नेपाललाई फाइनलमा पुर्यायो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.