आम निर्वाचन २०७९

कैलालीमा थारु समुदायको ४२ प्रतिशत उम्मेदवारी

कैलालीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि थारु सामुदायबाट ४२ दशमलव ८४ प्रतिशत उम्मेदवार रहेको देखिएको छ ।

जिल्लाको पाँच निर्वाचन क्षेत्रमा थारु सामुदायबाट प्रतिनिधिसभामा १२, प्रदेशसभामा २२ गरी जम्मा ३४ जना चुनावी प्रतिस्पर्धामा छन् । धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले एक सय २६ जनाको उम्मेदवारी रहेको जानकारी दिनुभयो ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक सय ४४ जनाले उम्मेदवारी दर्ता गराएकामा बुधबार १८ जनाले उम्मेदवारी फिर्ता गरिएपछि एक सय २६ जना चुनावी मैदानमा उत्रिएका हुन् ।

कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ४८ तथा प्रदेशसभामा ७८ जना उम्मेदवार छन् भने पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा थारु सामुदायवाट तीन जनाले उम्मेदवारी दिएकामा नेपाली कांग्रेसबाट रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी र नेपालका लागि नेपाली पार्टीबाट मानबहादुर चौधरी हुनुहुन्छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा पनि नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेश चौधरी र नेपाल लोकतान्त्रिक पार्टीबाट देशराम चौधरीले निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

त्यसै गरी क्षेत्र नं ३ पनि नेकपा माओवादी केन्द्र (गठबन्धन)बाट कुमार चौधरी, नागरिक मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र नेकपा (एमाले)बाट गौरीशङ्कर चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नं ४ मा नागरिक उन्मुक्ति पार्टीबाट कइया चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । कैलाली क्षेत्र नंं ५ मा थारु समुदायका दुई जना उम्मेदवार छन् । यहाँ एमालेबाट नारदमुनि राना र स्वतन्त्रबाट जगदीश चौधरीसहित बाह्र (१२) जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रदेशसभाका लागि कैलाली क्षेत्र नं १ को प्रदेशसभा (क) मा पाँच, प्रदेशसभा (ख) मा चार जना थारु समुदायका प्रतिस्पर्धी छन् भने निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा एक प्रदेशसभा (ख) मा दुई जना उम्मेदवार थारु समुदायबाट छन् ।

त्यसैगरी कैलालीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (क) मा तीन र प्रदेशसभा (ख) मा पनि तीन गरी छ जना थारु समुदायका उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

निर्वाचन क्षेत्र नं. ४ प्रदेशसभा (क) मा एक र निर्वाचन क्षेत्र नं ५ बाट प्रदेशसभा (क) मा दुई र प्रदेश (ख) मा एक जना थारु समुदायका प्रदेशसभा सदस्य उम्मेदवार छन् । कैलालीको पाँच क्षेत्रबाट विभिन्न दल तथा पार्टी र स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि ४८ जना उम्मेदवार छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.