राजनीति

उपराष्ट्रपति पुनको प्रश्न– “वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु किन अझै अलपत्र ?”

उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताउँर्द “वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र रहेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताउनुभयो । “वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् ।

खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन ।”

सरकार, राखेप, खेल सम्बद्ध सङ्घ संस्था, खेलाडी र सरोकारवाला सबैले संकल्प गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामी संकल्प गरौँ । खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौँ, राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौैँ । किनकी साझा प्रयासबिना यसको विकास कठिन हुन्छ ।”

राष्ट्रिय खेलकुद खेलाडी, सम्बद्ध पदाधिकारी र समर्थकका लागि यो ठूलो महोत्सव भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले ४१ वर्षअघि भएको राष्ट्रिय खेलकुदको प्रथम संस्करणबाट यहाँसम्म आइपुग्दा नेपाली खेलकुदले थुप्रै उतारचढावहरु पार गरेको बताउनुभयो ।

वर्तमानमा आइपुग्दा थुप्रै किर्तिमान बनेको, अवसर सिर्जना भएका, चुनौतीहरु पन्छिदै गएका र सम्भावनाहरु देखिएको बताउँदै उहाँले भौतिक पूर्वाधार निर्माण हुँदै गएको र राष्ट्रिय खेलकुद आयोजना हुने सहरले आफूलाई फेर्ने अवसर पाएको बताउनुभयो ।

खेलकुद आमनेपालीहरुको लागि चाँँसो र प्राथमिकताको विषय बनेको बताउँदै उहाँले यसप्रतिको सोचमा निकै सकारात्मक परिवर्तन आएको उल्लेख गर्नुभयो । राष्ट्रिय खेलकुदले विविध चुनौती पनि भोगिरहेको बताउँदै उपराष्ट्रपति पुनले हरेक संस्करणमा केही नयाँ गर्दै आएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद हजारौँ खेलाडीको खेल जीवनको भविष्यसँग जोडिएको हुन्छ भन्दै उपराष्ट्रपतिले यो आफ्नो क्षमता र प्रतिभा राष्ट्र सामु प्रदर्शन गर्ने, राष्ट्रले नयाँ प्रतिभा जन्माउने र किर्तिमानहरु सिर्जना हुने प्रमुख अवसर भएको बताउनुभयो ।

राष्ट्रिय खेलकुदको आयोजनाले भौतिक पूर्वाधारको विकास हुने बताउँदै उहाँले यसबाट राष्ट्रको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुग्ने र यस्ता अवसरमा हुने छलफल र भलाकुसारीबाट खेलकुद क्षेत्रका विकासका लागि नीतिगत रुपमा महत्वपूर्ण सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

विश्वमा भ्रातृत्व, शान्ति र समझदारी विकासका लागि खेलकुद महत्वपूर्ण कडी भएको उल्लेख गर्दै उहाँले यो व्यक्तिगत विषय भन्दा पनि सिङ्गो समाज र राष्ट्रको महत्वपूर्ण चिनारी र पहिचान भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान र राष्ट्रिय चिनारी उचो बनाउन खेलकुदको व्यापक विकास आवश्यक रहेको बताउँदै उहाँले यो स्वास्थ्य, पहिचान, राष्ट्र, अनुशासन, समृद्धि र राष्ट्रिय एकताका लागि आवश्यक भएकोमा जोड दिनुभयो ।

पदक जित्नु मात्र नभई जिल्ला र प्रदेश तथा विभागबाट प्रतिस्पर्धा गर्दै राष्ट्रिय खेलकुदसम्म आइपुग्नु आफैमा ठूलो विजय भएको उल्लेख गर्दै उहाँले कुनै समय राष्ट्रिय खेलकुदका लागि छनौट भए पनि विविध कारणले आफू सहभागी हुन नपाएको स्मरण गर्नुभयो ।

स्रोत र साधनको अभाव लगायतका विविध कठिनाइ भोगिरहे पनि नेपाली खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता प्रशंसनीय भएको उहाँले बताउनुभयो ।

खेलकुदबाट प्राप्त प्राविधिक शिक्षाको प्रमाणपत्रलाई औपचारिक शिक्षा सरह मानिनुपर्ने आवाज उठिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस विषयलाई गहिरो गरी मनन् गर्न, अध्ययन गर्न र निचोडमा पुग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.