फोटो फिचर

तस्वीरहरुमा नवौँ राष्ट्रिय खेलकुद समुद्घाटन

पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार साँझ ८.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुभयो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताउनुभयो । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस प्रतियोगिताले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उहाँले बताउनुभयो । आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उहाँले सबै खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै उहाँले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थितिका बीच समुद्घाटन गरिएको हो ।

समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ । मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी गराइएको थियो ।

यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ । उद्घाटन समारोह अगावै रङ्गशालाका प्याराफिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति थियो । सातवटै प्रदेशको संस्कृति झल्कने गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो । उद्घाटनकै क्रममा आतिबाजी पड्काइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.