जापानमा अक्टोबर १६ शुक्रबार ९.९ म्याग्निच्युडको विनाशकारी भूकम्प आउनसक्ने चेतावनी जारी भएपछि फैलिएको त्रास र अन्योल केही मिनेटमै फिर्ता हुँदा जनजीवन पुनःसहज भयो । जापान मौसम विज्ञान निकाय (जेएमए) ले शुक्रबार दिउँसो १२ः४० बजे भूकम्पको पूर्वचेतावनी जारी गरेको थियो।
मोबाइल फोनमा आपत्कालीन अलार्म बज्न थाले, सहरका सार्वजनिक ध्वनि प्रणालीबाट चेतावनी प्रसारण गरियो र टेलिभिजन प्रस्तोताहरूले दर्शकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरे। तर, चेतावनीअनुसार ठूलो भूकम्प आएन। जापानको मौसम विज्ञान निकायले केही मिनेटमै उक्त चेतावनी फिर्ता लियो।
चेतावनीमा जापानको सात तहको भूकम्पीय तीव्रता मापन प्रणालीको उच्चतम तह ‘सिन्दो ७’ सम्मको कम्पन गराउन सक्ने ९.९ म्याग्निच्युडको भूकम्प आउने उल्लेख थियो। त्यसबाट होक्काइदोदेखि तोकाइ क्षेत्रसम्म प्रभाव पर्न सक्ने अनुमान गरिएको थियो।
त्यसको दुई मिनेटअघि रुसको कामचाट्का प्रायद्वीपको समुद्री क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको भने वास्तविक घटना थियो। तर जापानमा त्यसबाट महसुस गरिएको कम्पनको तीव्रता ‘सिन्दो १’ मात्रै मापन भयो।
यो त्यस्तो स्तर हो, जसमा केही व्यक्तिले मात्रै कम्पन महसुस गर्न सक्छन्। उत्तरी जापानका प्रत्यक्ष प्रसारणमा समुद्र शान्त देखिन्थ्यो र जनजीवन सामान्य रूपमा चलिरहेको थियो। यसैबीच, समाचार प्रस्तोताहरूले भने सम्भावित ठूलो भूकम्पबाट जोगिन दर्शकलाई निरन्तर सतर्क गराइरहेका थिए।
दिउँसो १२ः४८ बजे जेएमएले चेतावनी फिर्ता लियो। यससँगै सम्भावित ठूलो भूकम्पको जोखिमबारे जारी गरिएको सतर्कता हटाइयो। चेतावनी सही भएको भए त्यो अभिलेख राख्न थालिएयताकै सबैभन्दा शक्तिशाली भूकम्प हुने थियो। जेएमएले त्रुटिको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।
भूकम्पको पूर्वचेतावनी प्रणालीबाट गलत सूचना गएको यो पहिलो घटना भने होइन। तर यसपटक अनुमान गरिएको भूकम्पको परिमाण असाधारण ठूलो हुनु र जारी चेतावनीलाई छुट्टै अर्को अलार्ममार्फत फिर्ता लिनुपर्नु उल्लेखनीय थियो। जेएमएका अनुसार, भूकम्पसम्बन्धी आपत्कालीन चेतावनी यसरी औपचारिक रूपमा फिर्ता लिइएको यो पहिलो घटना हो।
रेल सेवा प्रभावित, सर्वसाधारणमा अन्योल
गलत चेतावनीले सर्वसाधारणमा त्रास फैलाउनुका साथै सार्वजनिक यातायातमा समेत असर पारेको थियो। सेन्ट्रल जापान रेलवेका अनुसार, स्वचालित सुरक्षा प्रणाली सक्रिय भएपछि तोकाइदो शिन्कान्सेन रेल सेवा १५ मिनेटका लागि रोकिएको थियो।
टोकियोमा चेतावनी प्राप्त भएपछि पैदलयात्रीहरू आफ्नो मोबाइल हेर्दै भूकम्पको कम्पन सुरु हुन्छ कि भनेर केही समय रोकिएका थिए। तर, कम्पन महसुस नभएपछि उनीहरू सामान्य गतिविधिमा फर्किए।
विपद् सूचना दिने ‘नेर्भ’ एप प्रयोगकर्ताले ९.९ म्याग्निच्युडको भूकम्प आउन सक्ने चेतावनीसँगै कम्पन सुरु हुन बाँकी समय देखाउने काउन्टडाउनसमेत देखेका थिए। तर, काउन्टडाउन सकिँदासम्म भूकम्प आएन।
टोकियोस्थित वासेदा विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया बेलायती विद्यार्थी लोला मिलरोय–टोम्पकिन्सले क्याम्पसको क्यान्टिनमा खाना खाइरहेका बेला भूकम्पको अलार्म बजेपछि आफू निकै चिन्तित भएको बताउनुभयो।
“मैले यसअघि कहिल्यै भूकम्प अनुभव गरेकी थिइनँ। ठूलो कम्पन सुरु हुने र वरपरका सबै वस्तु खस्न थाल्ने अपेक्षा गरेकी थिएँ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार, वरपरका विद्यार्थीहरू पनि भूकम्प आउने आशङ्कामा चिन्तित भएका थिए। “सबै जना चिन्तित हुँदै एकअर्कासँग कुरा गरिरहेका थिए। के भइरहेको छ भनेर बुझ्ने प्रयास गरिरहेका थिए। तर, केही पनि हल्लिएन, भूकम्प नै आएन,” उहाँले भन्नुभयो।
इतिहासकै ठूलो भूकम्प आउने चेतावनी
९.९ म्याग्निच्युडको भूकम्प आउन सक्ने सूचनाले स्वाभाविक रूपमा सर्वसाधारणमा डर र अन्योल पैदा गर्यो। सन् १९६० मा चिलीको बियोबियो क्षेत्रमा गएको ९.५ म्याग्निच्युडको भूकम्पलाई इतिहासकै सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ। जेएमएका अनुसार, उसको प्रणालीले बाह्य रूपमा जारी गर्न सक्ने अधिकतम म्याग्निच्युडको सङ्ख्या ९.९ हो।
जेएमएको भूकम्प तथा सुनामी अवलोकन विभागका प्रमुख अयाताका एबिताले पत्रकार सम्मेलनमा प्रणालीले भूकम्पको केन्द्रबिन्दु कुरिल टापु आसपास रहेको गलत अनुमान गर्नुका साथै त्यसको परिमाण वास्तविकभन्दा धेरै बढी आँकलन गरेपछि प्रारम्भिक चेतावनी जारी भएको बताउनुभयो।
निकायले यो घटना साइबर आक्रमणका कारण भएको हुन सक्ने सम्भावनालाई अस्वीकार गरेको छ।
“हामी अहिले यसको कारणबारे अनुसन्धान गरिरहेका छौँ। कारण पत्ता लागेपछि सकेसम्म चाँडो त्यसबारे जानकारी दिनेछौँ,” एबिताले भन्नुभयो।
जापानका मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा कामचाट्का भूकम्पसँग सम्बन्धित क्षतिको कुनै विवरण सरकारले प्राप्त नगरेको बताउनुभयो।
यद्यपि, चेतावनीका कारण सुरक्षित स्थानतर्फ गएका वा अन्य सावधानी अपनाएका मानिसले भोग्नुपरेको चिन्ता र असुविधालाई सरकारले गम्भीरतापूर्वक लिएको उहाँले बताउनुभयो। चेतावनीका कारण यात्रा वा व्यावसायिक गतिविधिमा अवरोध पुगेका व्यक्तिको समस्यालाई पनि सरकारले गम्भीर रूपमा लिएको उहाँको भनाइ थियो।
यसअघि पनि जारी भएका थिए गलत चेतावनी
जापानमा यसअघि पनि भूकम्पसम्बन्धी गलत चेतावनी जारी भएका घटना छन्। सन् २०२० को जुलाईमा जेएमएले भूकम्पको स्थान गलत अनुमान गर्नुका साथै त्यसको परिमाण बढाएर आँकलन गरेपछि टोकियोसहित १५ प्रिफेक्चरमा चेतावनी जारी गरेको थियो।
त्यस्तै, सन् २०१३ को अगस्टमा समुद्रको पिँधमा जडित भूकम्प मापन उपकरणबाट प्राप्त असामान्य सङ्केतलाई सानो भूकम्पको तथ्याङ्कसँग गलत रूपमा मिसाइँदा किन्की क्षेत्रमा व्यापक रूपमा गलत चेतावनी फैलिएको थियो। जेएमएका अनुसार, यी दुवै घटनामा ‘सिन्दो १’ वा त्यसभन्दा बढी तीव्रताको कम्पन भने महसुस गरिएको थिएन।
जापानको भूकम्प पूर्वचेतावनी प्रणालीले विभिन्न स्थानमा जडित भूकम्प मापन उपकरणबाट तथ्याङ्क सङ्कलन गर्छ। त्यसको विश्लेषण गरेर भूकम्पको सम्भावित केन्द्रबिन्दु, परिमाण र कम्पनको तीव्रता अनुमान गरिन्छ।
“प्रणालीले प्रत्येक नतिजा निकाल्दै गर्दा हामी त्यसको गणना वास्तविक समयमै निगरानी गरिरहेका हुँदैनौँ। प्रणालीले स्वचालित रूपमा नतिजा निकाल्ने भएकाले परिवर्तन भइरहँदा हामीले त्यसलाई अनिवार्य रूपमा तत्कालै देख्न सक्छौँ भन्ने हुँदैन,” एबिताले भन्नुभयो।
जेएमएको वेबसाइटका अनुसार, दुर्घटना, चट्याङ वा उपकरणमा खराबीका कारण मापन उपकरणबाट असामान्य सङ्केत प्राप्त हुँदा पूर्वचेतावनी प्रणालीले गलत सूचना दिन सक्छ।
यसपटकको घटनामा चट्याङको भूमिका रहेको नमानिएको एबिताले बताउनुभयो। उहाँले तथ्याङ्क प्रशोधन गर्ने क्रममा त्रुटि भएको हुन सक्ने सङ्केत गर्नुभयो। तर, अनुसन्धान जारी रहेकाले यकिन कारण पत्ता लागिसकेको छैन।
एबिताका अनुसार, भूकम्पको पूर्वानुमानको विश्वसनीयता अवलोकन केन्द्रको सङ्ख्या र मापनको गुणस्तरमा निर्भर गर्छ। भूकम्पको केन्द्रबिन्दु मापन केन्द्रबाट टाढा हुँदा प्राप्त तथ्याङ्कको गुणस्तर घट्न सक्छ। यसपटक पनि भूकम्पको स्रोत टाढा रहेकाले यस्तो समस्या भएको हुन सक्ने उहाँको भनाइ छ।
चेतावनी फिर्ता लिने प्रक्रियाबारे उहाँले अधिकतम मापन गरिएको भूकम्पीय तीव्रता ‘सिन्दो २’ वा त्यसभन्दा कम भएको अवस्थामा अथवा कम्पन भूकम्पका कारण नभएको निष्कर्षमा पुगेपछि चेतावनी रद्द गर्ने सूचना जारी गरिने बताउनुभयो।
तस्वीर र समाचार स्रोत द जापान टाइम्स




प्रतिक्रिया राख्नुहोस्