राजनीति

दशैं लगत्तै आन्दोलन गर्नुपर्छ, विशेष अधिवेशन बोलाउनुपर्छ, संसदमा हंगामा गर्नुपर्छ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबु बाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न सङ्घीय संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।

काँग्रेसको कोभिड–१९ अनुगमन समितिले कोरोना महामारीका कारण मुलुकमा मानवीय र आर्थिक संकट गहिरिंदै गएको र सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै यस विषयमा छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउन माग गरेको जनाएको छ ।

समितिले अहिलेसम्म गरेका गतिविधि र अनुगमनका निष्कर्ष तथा सुझाव पार्टी सभापति शेरबहादुर देउवामार्फत केन्द्रीय कार्यसमितिलाई अवगत गराउन आज सभापति देउवालाई अनुगमन प्रतिवेदन हस्तान्तरण गरेको छ ।

सो अवसरमा सभापति शेरबहादुर देउवाले सरकार जनताको पिरमर्का प्रति बेखबर रहेको बताउनुभएको पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

सभापति देउवाले कोरोना महामारी फैलिरहेको भएपनि सरकारले भेन्टिलेटर, आइसोलेसन र औषधिको पर्याप्त व्यवस्था गर्न नसकेको टिप्पणी गर्दै विशेष संसद बोलाएर उक्त विषयमा छलफल गराउनुपर्ने र कोरोना संक्रमण रोक्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

‘अक्सिजनसहित व्यवस्था गरी आइसोलेसन तयार गर्ने काम सरकारको हो । तर सरकारले काम नै गरेको छैन,’ सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझेपछि शुक्रबार देउवाले भन्नुभयो ‘काठमाडौंमा धेरै आइसोलेसन बनाउनुपर्छ । स्थिति भयावह भइसकेको छ । आइसोलेसन बेडको हाहाकार भइरहेको छ ।’

कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताउनुभएका सभापति देउवाले सरकारले जनताका पक्षमा काम नगरेको आरोप लगाउँदै सरकारले भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार गरोस् ।

उहाँले भन्नुभयो ‘सरकारले जनताको कुनै वास्ता नै गरेको छैन । मरे मरून् भन्ने अवस्थामा पुगेको छ । सरकारले यस्ता महामारीमा सबैभन्दा धेरै काम गर्नुपर्ने हो । तर सरकारले जनताको मतलव नै गरेन ।’

त्यस्तै देउवाले सरकारले कोरोना नियन्त्रण र भष्टाचार रोक्ने कदम नचाले दसैंलगत्तै आन्दोलनमा उत्रने चेतावनी दिंदै भन्नुभयो ‘सेनिटाइजरदेखि मास्कसम्म भ्रष्टाचार भएको छ । यति भ्रष्टाचार त अहिलेसम्म सुनेकै थिएन । कोरोनाका नाममा धेरै भ्रष्टाचार भइरहेको छ । महामारीका बेला आन्दोलन नगर्ने कि भनेको जनताका पक्षमा सरकारले काम गरेन ।’

‘यो गैरजिम्मेवार र संवेदनशीलहीन सरकार हो । मान्छेको जीवनमा हेलचक्राइँ गरेको छ। मानिसको जीवन बचाउन हरसंभव प्रयास गर्नुपर्नेमा त्यसो भएन । संसदमा अब हंगामा गर्नुपर्छ । दसैंलगत्तै आन्दोलन गर्नुपर्छ ।’

समितिले कोरोना संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यक औषधधिको आपूर्ति सहज गर्न तथा आवश्यक स्वास्थ्यकर्मीको अविलम्व व्यवस्था गर्न समेत माग गरेको छ ।

आइसोलेसनमा बस्ने व्यवस्था नभएका संक्रमित नागरिकका लागि आवश्यक आइसोलेसनको व्यवस्था र अस्पतालको उपचार चाहिने संक्रमितको तत्काल सस्तो र सुलभ अस्पतालको व्यवस्था सुनिश्चित गर्न पनि माग गरिएको समितिद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

कोरोनाबाट अति प्रभावित गरीब परिवारलाई चाड पर्वको समय समेतलाई दृष्टिगत गर्दै हरेक परिवारलाई निश्चित आर्थिक सहयोग रकम सिधै हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गरेको सहमहामन्त्री डा. महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.