जल/वातावरण

भक्तपुरमा होम आइसोलेसनमै ज्यान गयो, काभ्रेमा १३ जनाको मृत्यु, १२ सय संक्रमित

कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको शनिबार होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिनुभयो ।

यसै गरी भक्तपुरको छिमेकी जिल्ला काभ्रेमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने १२ सय संक्रमित भएका छन् । शनिबार जिल्लाको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आउनुभएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दमको समस्याबाट पीडित उहाँलाई गत मङ्गलबार अस्पताल भर्ना गरिएको र उहाँको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसैगरी कोरोना सङ्क्रमणबाट गत बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुवै जना मधुमेहका रोगी थिए । ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले जनाएको छ । पचास वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना सङ्क्रमणबाट नै मृत्यु भएको थियो ।

यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना सङ्क्रमित एक वृद्धाको उपचारको क्रममा गत बुधबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । अहिलेसम्म कोरोना सङ्क्रमणबाट काभे्रपलाञ्चोकमा १३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये आठ पुरुष र पाँच महिला छन् । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २०५ पुगेको छ । तीमध्ये ४४६ महिला र ७५९ पुरुष रहेका छन् ।

कूल सक्रिय सङ्क्रमितमध्ये ३७ प्रतिशत अर्थात् १९५ बनेपा नगरभित्रका मात्रै छन् । यस्तै, कूल सक्रिय सङ्क्रमितमध्ये शुक्रबारसम्म सदरमुकाम धुलिखेलमा ३३ प्रतिशत छन् । यसैगरी पनौतीमा ५०, पाँचखालमा ३२, नमोबुद्धमा ३६, मण्डनदेउपुरमा २७, भुम्लु गाउँपालिकमा दुई र रोशीमा ११ जना सङ्क्रमित छन् ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँच गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल, खानीखोला र महाभारत गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम सङ्क्रमण भुम्लु गाउँपालिकामा दुईजना रहेका छन् । कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत पुरुष रहेको पोष्टले जनाएको छ । अहिलेसम्म २२८ महिला तथा ४२५ पुरुष गरी कूल ६५३ जना उपचारपछि निको भएर घर फर्किसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका तथ्याङ्कले देखाएको छ । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये ३७ महिला र ८७ पुरुष गरी कूल १२४ जना अस्पतालको आइसोलेसनमा तथा १७३ महिला र २४३ पुरुष गरी कूल ४१६ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.