जन सरोकार

छोटो समयमा आर्जन गर्ने लोभमा लागूऔषध ओसारपसार

एक डोज लागूऔषधका लागि एकपटक यौन सम्बन्धका लागि तयार हुने युवती पनि रहेको

कर्णाली प्रदेशका लागूऔषधको कुलतमा फस्ने ‘नयाँ पुस्ता’को सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । लहलहै र बाध्यतामा परेर लागूऔषधको दलदलमा भासिन पुगेको यो पुस्ता उम्किन सकेको छैन । पढेलेखेका, उच्च घरानाका यो नयाँ पुस्ता पनि कुलतमा फसेको पाइएको छ ।

खासगरी अध्ययन तथा अन्य रोजगारीको सिलसिलामा कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लाबाट प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको बसाइसँगै उनीहरू लागूऔषधको दलदलमा फसेको पाइएको छ । पढ्न वा कामको सिलसिलामा बजारमा आइपुगेका युवतीहरू कुलतमा फस्ने गरेका छन् ।

एक डोज लागूऔषधका लागि एकपटक यौन सम्बन्धका लागि तयार हुने युवती पनि रहेको सम्बद्धहरु बताउँछन् । यस्तो अवस्थामा पुगेकालाई ‘एडिक्ट’ (नभई नहुने) भन्ने गरिन्छ ।

प्रायः यौनकर्मी युवतीले लागूऔषध सेवन गर्ने पाइएको छ । सेवन नगर्नेहरू पनि छिटो समयमै पैसा कमाउने लोभले कारोबारमा लागेको पाइएको छ । लागूऔषध कारोबारमा पनि महिला अगाडि नै छन् । उनीहरू लागूऔषध ओसारपसार गरिदिने वा सम्पर्कस्थल बनेर कारोबारमा सघाउने गरेको पाइन्छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लाका महिलाहरू चरेस, अफिम बोकेर नेपालगञ्ज झर्नु र यहाँका नयाँ पुस्ताका युवायुवतीहरूले कारोबार गर्नुलाई नौलो मानिँदैन ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सुर्खेतमा दैनिकजसो लागूऔषध कारोबारी पक्राउ पर्ने गरेका छन् । छोटो समयमा धेरै सम्पत्ति आर्जन गर्ने लोभमा लागूऔषधको गैरकानूनी कारोबार गर्ने क्रम बढ्दो छ । कर्णाली प्रदेशमा लागूऔषध प्रयोग र कारोबार पछिल्ला तीन वर्षमा बढ्दै गएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।

नयाँ पुस्ता अर्थात युवायुवती नै बढी कारोबारमा संलग्न भएको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा लागूऔषधसहित ३८ जनालाई नियन्त्रणमा लिइएको छ । लागूऔषध सेवन गर्नेको सङ्ख्या पनि बढ्दै जाँदा यसको कारोबार मौलाएको छ ।

“गैरकानूनी काम गर्दा कारबाही हुन्छ भन्ने थाहा पाएर पनि लागूऔषध कारोबारीको सङ्ख्या बढेको छ । बेरोजगारी मुख्य समस्या हो, सरकारले रोजगारीमूलक कार्यक्रम ल्याउनुपर्छ”, स्थानीयवासी कर्णबहादुर कार्की भन्नुहुन्छ । रोजगारीमूलक शिक्षाको कमीका कारण लागूऔषध दुव्र्यसनीमा ‘नयाँ पुस्ता’ फसेको अर्का स्थानीयवासी हरिबहादुर कार्की बताउनुहुन्छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा १५०, आव २०७७/०७८ मा १२३, आव २०७८/०८९ मा १७२ र आव २०७९/०८० को तीन महिनामा ३८ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ परेका ८० प्रतिशत छिटो धन आर्जन गर्ने लोभमा कारोबारमा संलग्न रहेको पाइएको छ ।

विशेष गरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले बताउनुहुन्छ । परिवार तथा अभिभावकको हेलचेक्र्याइँ र निगरानीको अभावमा नयाँ पुस्ता लागूऔषधको लतमा फस्दै जान थालेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

लागू औषध ओसारपसारमा परिवारका सबै सदस्य नै संलग्न हुने गरेको पाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी श्रेष्ठ बताउनुहुन्छ । ‘क्षणिक समयमा रिस्क’ मोल्न सके धेरै आम्दानी हुने भएपछि कानूनी जोखिम मोलेरै भए पनि नयाँ पुस्ता लागूऔषध कारोबारमा संलग्न हुने गरेको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार नाइट्रोजेपाम ब्राउनसुगर, चरेस, अफिम, गाँजा, कोरेक्स,लगायतको लागूऔषधको बढी ओसारपसार हुने गरेको पाइन्छ । सूचना अधिकारी श्रेष्ठले लागूऔषध नियन्त्रमा प्रहरीले कडाइ गरेको बताउनुभयो । भारतीय सीमा नाकासँग जोडिएको लुम्बिनी प्रदेशको बाँके जिल्लाबाट लागूऔषध ओसारपसार धेरै हुने गरेको प्रहरीको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.