जन सरोकार

जोशीको निधनप्रति प्रज्ञा प्रतिष्ठानद्वारा दुःख व्यक्त

नेपाल प्रज्ञा–प्रतिष्ठानले संस्कृतिविद् सत्यमोहन जोशीको निधनले अत्यन्त मर्माहत भएको जनाएको छ । प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा आजीवन सदस्य रहनुभएका जोशीको एक सय तीन वर्ष पाँच महिनाको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

प्रतिष्ठानका निमित्त कूलपति डा जगमान गुरुङ र निमित्त सदस्य सचिव प्रा डा हेमनाथ पौडेलले आज जारी गरेको शोक विज्ञप्तिमा जोशी नेपाली भाषा तथा नेपाल भाषा, साहित्य र संस्कृतिका सर्वोच्च धरोहर, वरिष्ठ संस्कृतिविद्, कवि, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार तथा अन्वेषक, वाङ्मय शताब्दीपुरुष भएको उल्लेख छ ।

विसं १९७७ वैशाख ३० गते बखुँबहाल, ललितपुरमा माता राजकुमारीदेवी र पिता ङिशङ्करदास जोशीका पुत्ररत्नका रूपमा जन्मनुभएका जोशी नेपाली संस्कृति, पुरातत्व र इतिहासका अथक अन्वेषक, आधिकारिक ज्ञाता, प्रामाणिक व्याख्याताका साथै नेपाली भाषा र नेपाल भाषाका विशिष्ठ विद्वान् एवं प्रखर सर्जक हुनुहुन्थ्यो ।

“आजीवन सदस्यका रूपमा रहेर नेपालको प्राज्ञिक समुन्नयनका लागि गर्नुभएको योगदान विशिष्ट र अतुलनीय रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “कृतिहरूले नेपाल र नेपालीलाई विश्वमा चिनाउने काम गरेका छन् भने प्राज्ञिक कर्महरूले उहाँलाई युगौँयुगसम्म अजर र अमर राख्ने छन् ।”

शताब्दीको यात्रा पूरा गरिसक्दा पनि सदैव नेपाल, नेपाली र नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा चिन्तनशील उहाँको यस दुःखद निधनबाट राष्ट्रले एक अमर विभूति गुमाएको छ भने नेपाल प्रज्ञा–प्रतिष्ठानले एक जना भरपर्दा प्राज्ञिक अभिभावक गुमाएको शोक विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले यस घडीमा प्रतिष्ठानले जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.