जन सरोकार

काठमाडौँ महानगरले फिर्ता ल्यायो २०८ रोपनी सार्वजनिक जग्गा

काठमाडौँ महानगरपालिकाले अतिक्रमणमा परेको दुई सय आठ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले बिहीबार सामाजिक सञ्जालमार्फत अतिक्रमणमा परेका रु २३ अर्ब मूल्यबराबरको दुई सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको जानकारी दिनुभएको छ ।

बालेन

आफू नेतृत्वमा आएसँगै महानगरले करिब रु दुई खर्ब मूल्यबराबरको एक हजार ८५९ रोपनी १४ आना अतिक्रमित जग्गा फिर्ता ल्याउने लक्ष्यका साथ काम गरिरहेको नगरप्रमुख शाहको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनःप्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको नगरप्रमुख शाहले बताउनुभयो ।

महानगरले फिर्ता गरिएका जग्गालाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलका रूपमा विकास गर्ने कार्य तीव्रगतिमा अघि बढाइरहेको छ ।

सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्रथामिकताका साथ अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीतिगत आधार मानी मिचिएका एक हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको र समितिले भोलिदेखि कार्यप्रारम्भ गर्ने महानगरले जनाएको छ ।

नगरप्रमुख शाहले उक्त अभियान केवल सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउनमात्र नभई सार्वजनिक सम्पत्तिमा सर्वसाधारण सबैको पहुँच बढाउन, जनताले उपभोग गर्न पाउने अधिकार स्थापित गर्न साथै स्वाभिमानको रक्षा गर्न भएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.