जल/वातावरण

पाँच घण्टाको अवधिमा बिराटनगरमा चारजनाको कोरोना संक्रमणबाट मृत्यु

बिराटनगरमा पाँच घण्टाकोबीचमा विभिन्न अस्पतालहरुमा उपचारका क्रममा चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना अस्पताल सन्चालकसहित रहेका छन् । आइतबार करिब ११ बजेदेखि सोमबार बिहानसम्म चार जनाको मृत्यु भएको हो ।

समाचार अनुसार मृत्यु हुनेमा नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जना रहेका छन् ।

न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन अजित बस्नेतले जानकारी दिनुभयो । मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालक रहेको र पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएर आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु भएको थियो । उनी मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

यसैगरी नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

ग्रामथानका पुरुषमा असोज २९ गते र विराटनगर–३ का पुरुषमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि बिराटनगरका पुरुष होम आइसोलेसनमा थिए । श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि आइतबार नोबेलको आइसोलेसनमा भर्ना गरिएको थियो ।

यसैगरी बिराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ । बिराटनगर–२ की ६० वर्षीया महिलाको आज बिहान ४ बजेतिर मृत्यु भएको हो । ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.