जन सरोकार

शहरी गरिबी कम गर्न तीनै तहका सरकारले काम गर्नुपर्ने

तीव्ररूपमा शहरीकरण भएसँगै शहरी गरिबीको सङ्ख्या पनि बढिरहेकाले यो मुद्दालाई सम्बोधन गर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिइएको छ ।

‘समावेशी शहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित विश्व बसोवास दिवसको कार्यशाला गोष्ठीअन्तर्गत ‘दिगो शहरीकरणका लागि समावेशिता’ विषयक छलफल कार्यक्रमका वक्ताले शहरी गरिबको न्यूनीकरणका लागि विशेष कार्यक्रम अघि बढाइनुपर्ने बताएका हुन् ।

कार्यक्रममा युरोपियन युनियनका प्रतिनिधि इलोजिया अस्टुडिलोले शहरीकरण तीव्र हुँदा गरिबीसँगै विपद् जोखिमको सम्भावना पनि बढेकाले यसलाई ध्यान दिएर नीति निर्धारण र कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

विपद्बाट हुने जोखिमलाई मध्यनजर गरी खुला क्षेत्रमा सबैको पहुँच बिस्तार गरिनुपर्ने उहाँको भनाइ छ । नेपालजस्ता देशमा शहरी क्षेत्रमा ९८ प्रतिशत मानिस हिँड्ने गरेकाले यसका आधारमा पूर्वाधार निर्माण गरिनुपर्नेमा पनि युनियनले जोड दिएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका उपाध्यक्ष रमा ढकालले शहरी क्षेत्रमा भूकम्पका बेला अरु भाग्न सकेपनि अपाङ्गता भएका भाग्न नसक्ने गरेकाले यसलाई ध्यान दिएर खुला स्थानलगायत पूर्वाधार निर्माणमा सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

कोरोना महामारी फैलिएका बेला बहिरा समुदायले यो रोगका विषयमा थाहा नपाउँदा पीडित भएको भेटिएकाले उनीहरूले जानकारी पाउने गरी साङ्केतिक भाषामा सन्देश प्रसारणको व्यवस्था गरिनुपर्ने माग पनि उहाँले राख्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अपाङ्गतामैत्री पूर्वाधार निर्माण नगरिँदा आवतजावतमा समस्या हुने गरेको मुद्दालाई महासङ्घले उठाउँदै आएको छ ।

इञ्जिनीयरिङ अध्ययन संस्थानका प्रा डा सङ्गीता सिंहले महिला जनप्रतिनिधिको सङ्ख्या बढेपनि नीति निर्माणको निर्णायक तहमा कम सहभागिताले समावेशी शहरी विकास हुन नसकेको विचार राख्नुभयो । महिलाको राजनीतिक सामथ्र्य बढाए शहरी क्षेत्रको विकासमा सहयोग पुग्ने भनाइ उहाँको छ ।

शहरी तथा क्षेत्रीय योजनाकार समाजका अध्यक्ष डा महेन्द्र सुब्बाले काठमाडौँ, विराटनगरजस्ता मुख्य शहरमा अझै अव्यवस्थित बसोवासी रहेकाले यसलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोवास कार्यक्रम (युएन ह्याविट्याट) को आह्वानमा विश्व बसोवास दिवस मनाउने गरिएको छ ।

सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापीरूपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो । नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.