राजनीति

सरकारले न सहयोग गर्यो न काम गर्ने बाटो खोल्यो– गोनपा प्रवक्ता ढुंगाना

“सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याएको” भनिए पनि मुलुकका स्थानीय तहहरुमाथिको अंकुश कायमै छ । विशेष गरी अहिले उत्पन्न भैरहेको कोभिड–१९ महामारीमा संघीय सरकारले स्थानीय तहलाई पूरै वेवास्ता गरेको अनुभव भुक्तभोगीहरुको छ । काठमाडौं जिल्लाभित्रका नगरपालिकाहरुसंग कोरोना रोकथाम र उपचारमा संघीय सरकारबाट कुनै सहयोग नपाएको अनुभव छ ।

एक हजारभन्दा बढी कोरोना संक्रमित रहेको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष मनोज ढुंगानाको अनुभवमा महामारी रोकथाममा नगरपालिकाले गर्न खोजेको काममा समेत संघीय र प्रदेश सरकारले सहयोग गरेको छैन । प्रदेश र संघीय सरकारबाट नगरपालिकाले अहिलेसम्म पाएको सहयोगका नाममा सूचना प्रवाह र पिसीआर परीक्षण किट मात्रै हो ।

गोकर्णेश्वर नगरपालिका उपत्यकामा बढी मात्रामा कोरोना संक्रमित रहेका क्षेत्रमध्येमा पर्दछ । कार्तिक २ गतेसम्म यहाँ ११ सय १८ जना संक्रमित रहेका छन् । विशेष गरी घना बस्ती र शहरीकरण भएका क्षेत्रमा बढी संक्रमित रहेको यो नगरपालिकामा महिला र पुरुष संक्रमितको संख्या लगभग बराबर छ । यहाँ ५ सय ९२ जना पुरुष र ५ सय २६ जना महिला संक्रमित छन् ।

प्रवक्ता ढुंगानाका अनुसार नगरपालिकाभित्र अहिलेसम्म ५ सय २४ जना निको भैसकेका छन् भने १६ जनाको मृत्यु भएको छ र ५ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । कार्तिक २ गतेसम्म होम आइसोलेसनमा ५ सय ४२ जना, अस्पतालमा ३६ जना, नाजुक अवस्थामा ५ जना रहेका छन् ।

स्मरणीय कुरा के छ भने अन्यत्रको तुलनामा यो नगरपालिकामा पिसीआर गरिएकामध्ये आधामा पोजेटिभ देखिएको छ । अहिलेसम्म २३ सय ३ जनाको पिसीआर परीक्षण गर्दा ११ सय १८ जनामा पोजेटिभ देखिएको हो ।

सुरुमा निषेधाज्ञा हटेसंगै नगरपालिकाका सामुदायिक विद्यालयहरु संचालनमा आइसकेका थिए । तर एकाएक संक्रमण बढ्न थालेपछि अहिले पुनः बन्द गरिएको प्रवक्ता ढुंगाना बताउनुहुन्छ । अब विद्यालयहरु कहिले खुल्छन् त्यो आगामी दिनको अवस्थाले नै निर्धारण गर्छ । बढ्दो जोखिमका कारण नगरपालिका र सबै वडामा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको छ ।

घना बस्ती र शहरीकरण भएका कारण संक्रमण ह्वात्तै बढ्नसक्ने सम्भावनालाई ध्यानमा राखेर नगरपालिकाले समयमै उपचार व्यवस्था गरेको प्रवक्ता ढुंगाना बताउनुहुन्छ । नगरपालिकाभित्र अहिले नेपाल मडिकल कलेजमा १०० वटा आइसोलेसन बेड छ भने लायन्स क्लबको समन्यमा ४० वटा थपिएको छ । त्यसै गरी नेपाल मेडिकल कलेज र याङ्ग्री अस्पतालमा गरी ५ वटा भेन्टिलेटर कोरोना संक्रमितका लागि छुट्याइएको ।

विश्वव्यापी महामारीका रुपमा रहेका कारण कोरोना संक्रमण फैलन नदिन र संक्रमितहरुको उपचारका लागि प्रदेश र केन्द्र सरकारबाट कस्तो सहयोग प्राप्त भयो भन्ने जिज्ञासामा प्रवक्ता ढुंगाना भन्नुहुन्छ– “प्रदेश र केन्द्रबाट कागजी सूचना आदान प्रदान र पिसीआर परीक्षण किट आयो यो भन्दा बढी केही छैन । न हामीलाई काम गर्न दिन्छ, न आफूले गर्छ । नगरपालिकाभित्रको सबै जिम्मा नगरपालिकाले नै लिने हो भने हामी संक्रमण घटाउन र उपचार आफ्नै स्रोतले गर्न सक्षम छौं, तर सरकारले बाटो नै खोल्दैन ।”

संघीय र प्रदेश सरकारबाट आवश्यक बाटो नखोलिंदिंदा नगरपालिकाले गर्नसक्ने काम पनि गर्न नसकेको प्रवक्ता ढुंगाना बताउनुहुन्छ । उहाँ आम नगरबासीलाई सुरक्षित रहन निर्धारण गरिएका उपायहरु अपनाउन गर्न अनुरोध गर्दै बडा दशैं तथा तिहार मनाउने क्रममा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनुरोध गर्दै सुरक्षित रहन अपील गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.