जन सरोकार

देशैभर बेमौसमी वर्षाको कहर : सुदूरपश्चिम सर्वाधिक प्रभावित- दर्जन बढीको मृत्यु

आइतबारदेखि परेको अविरल वर्षाका कारण मंगलबार साँझसम्म १५ जनाको ज्यान गएको छ । सबैभन्दा बढी सुदूरपश्चिममा जनधनको क्षति भएको छ भने १९ जिल्लालाई प्रभावित गरेको छ ।

लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की अन्दाजी ३५/३६ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का अन्दाजी ६२/६३ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का अन्दाजी ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक छन् ।

यसैगरी सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ ।

केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बैतडीको शिवनाथ गाउँपालिका-६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय भालु पार्कीका १८ वर्षीया बुहारी पवित्रा पार्की र २४ वर्षीया बुहारी भानु पार्की र उनको तीन वर्षीया नाती सोम पार्की छन् ।

अविरल वर्षासँगै मंगलबार दिउँसो पौने २ बजे पहिरोले सुनसरीको धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने निसान राईको घर पुरिँदा उनकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको छ

कालीकोटको महाबै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको थियो तर विष्णुको मृत्यु भएको छ । सरिताको भने डडेलधुरा अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

बझाङमा चार परिवार सम्पर्कविहीन

बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण चार घरपरिवार सम्पर्कविहीन भएको छ । थलारा गाउँपालिका-४ को डिख्लामा मंगलबार बिहान पहिरो जाँदा चार परिवारका सदस्य सम्पर्कविहीन भएको स्थानीय शिक्षक मदन साउदले बताए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, बझाङले भने घटनाबारे पुष्टि गरेको छैन । गाउँपालिकाका प्रशासकीय अधिकृत पदमबहादुर ओलीले भने, ‘गाउँमा अहिले टेलिफोन सम्पर्कविच्छेद भएको छ, एनसेलमा मात्रै बेलाबेला सम्पर्क हुन्छ ।’

बझाङ सदरमुकाममा रहेका सञ्चारकर्मी मकरराज धामीका अनुसार वर्षाका कारण पहिरो गएको भनिएको क्षेत्रमा जान सम्भव छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी पुरुषोत्तम कँडेलले पनि घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए ।

महाकालीमा फसेका ५ जनाको उद्धार

कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको मंगलबार साँझ हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको जाकारी दिए । उनका अनुसार नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक बाढीबाट बच्न रुखमा चढेर बसेका थिए ।

कैलालीको ठूलीगाडमा आएको बाढीमा दम्पती फसेका छन् । डोटी र कैलालीको सिमाना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका-४ को खिमडीमा दम्पती फसेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जानकारी दिए । उनीहरुको उद्दारका लागि हेलिकप्टर धनगढी पुगेपनि प्रतिकुल मौसमका कारण सम्भव भएन ।

यस्तै टीकापुरमा कर्णाली नदी गाउँ पसेको छ । टीकापुर नगरपालिका-५ को साइपुरमा नदी टतीय क्षेत्रमा पसेको बताउँदै प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

चार राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्ऽले सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशको बेनी-मुस्ताङ राजमार्ग अवरुद्ध भएको छ ।

म्याग्दीको बेनी गाउँपालिका-४ घुमाउनीभिरमा वर्षाका कारण सडक हिलाम्य हुँदा मंगलबारदेखि राजमार्ग अवरुद्ध भएको केन्ऽले जनाएको छ । यस्तै सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका-५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेका कारण सोमबारदेखि उक्त राजमार्ग अवरुद्ध भएको हो ।

यस्तै डोटीको जोरायल गाउँपालिका-१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग सोमबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यस्तै अछामको चौपाटी गाउँपालिका-६ दुनीभावरमा खसेको पहिरोले चौखुटे अछाम बाजुरा सडक खण्ड सोमबारदेखि अवरुद्ध भएको छ ।

बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका-१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

उद्धार र रातहमा खटिने गृहमन्त्रीको निर्देशन

गृह मन्त्रालयले तीन दिनदेखि परेको अविरल वर्षाका कारण १९ जिल्ला प्रभावित बनेको बताएको छ । वर्षाका कारण कालीकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्ला प्रभावित बनेको मन्त्रालयले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय तह लगायतको सहयोगमा करिब ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय जिल्लाहरुमा सञ्चार सम्पर्क, विद्युत सेवा, सडक अवरोध भएका कारण उद्दारमा कठिनाइ भएको मन्त्रालयले बताएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्रभावित नागरिकको उद्धारका लागि सबै सुरक्षा निकायहरुलाई संयुक्त प्रयास जारी राख्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको बैठकले राहत तथा उद्धारका लागि अन्य आवश्यक सामग्रीहरु समयमै उपलब्ध गराउन सकिने गरी व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.