जन सरोकार

धनकुटा र पाँचथरमा पहिरो : ११ जनाको मृत्यु

धनकुटा र पाँचथरमा मंगलबार राति गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा दशैंमा टीका लगाउन आएका ६ जनाकोे पहिरोले घर बगाउँदा मृत्यु भएको हो । त्यस्तै ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ रहेको जनाइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये उषा, सञ्जाल र लीलाको अवस्था चिन्ताजनक छ ।

घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । मृत्यु हुनेमध्ये झापाको दमक ठेगाना भएकाहरू दसैंको टीका लगाउन आएका हुन् । घाइतेको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सडकसमेत क्षतिग्रस्त भएर यातायात बन्द हुँदा घाइतेलाई उपचारका लागि अन्यत्र लैजान सकिएको छैन ।

उता अविरल वर्षासँगै गएको पहिरोमा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् । सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा-छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मिक्लजुङ, फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।

पहिरोले मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । यस्तै जिल्ला सदरमुकाम फिदिमसँग विभिन्न गाउँपालिका जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.