खेलविविध

स्व‍. निमिसलाई सम्मानस्वरुप स्वर्ण पदक र २५ हजार नगद

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल निमिसलाई सम्झँदै सकिएको छ । प्रतियोगिताको अन्तिम दिन बुधबार खेलकै क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका निसिम थापालाई सम्मानस्वरुप स्वर्ण पदक र २५ हजार नगद दिइएको छ ।

खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ । प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो । उहाँका काका भेनस थापाले पदक लिनुभयो ।

थापाको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ । बीमाको रकम बाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङग गहतराजले जानकारी दिनुभयो । नेपाल आर्मीको समूहले ब्यानरमा उहाँको रङ्गीन तस्बीरसहित “वी वील मिस यु ….।” लेखेको छ ।

मन्त्रीसहित राखेपका पदाधिकारीको समूह उहाँका परिवारलाई भेट्न गएको छ । खेलकै क्रममा दुर्घटना भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो अभ्यास खेलको नतिजालाई आधारमानेर गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिनुभयो ।

क्रसकन्ट्री, टिम क्रसकन्ट्री र एक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान तीन्तीन स्वर्ण जितेका छन् । जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कूल दुई हजार सात सय ५० अङ्कसहित स्वर्ण पदक हात पारेको हो ।

विभागीय टिम आर्मीले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कूल दुई हजार पाँच सय ५५.९ अङ्कसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी हुनुहुन्थ्यो । उक्त टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।

बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ । कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी हुनुहुन्थ्यो । उहाँहरुले कूल दुई हजार एक सय ४८.३ अङ्क प्राप्त गरेको सङ्घले जनाएको छ ।

व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण

क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीका सुरुज थापाले कूल एक सय अङ्कसहित स्वर्ण पदक हात पार्नुभएको हो । सोही खेलमा गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पार्नुभएको छ । उहाँले कूल नौ सय ४८.६ अङ्क हात पार्नुभएको थियो । त्यस्तै, बागमतीका कृष्णबहादुर सुनुवारले कास्य पदक जित्नुभएको छ ।

उहाँले कूल नौ सय २५.६ अङ्क प्राप्त गर्नुभएको थियो । प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ भने एक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ ।

त्यस्तै महिला टिम एक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ भने महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले स्वर्ण पदक प्राप्त गरेको छ । क्रसकन्ट्री अन्तर्गत प्रतिस्पर्धा भइरहेको बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.