राजनीति

रोकिएका जिल्ला अधिवेशन छठपछि

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताउनुभएको छ ।

बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले जिल्लाको सदस्यताको विवाद तिहार अघि नै समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो “विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ ।”

सहमहामन्त्री डा महतले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्ने गरी पार्टी अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“अब कांग्रेस एकल बहुमत प्राप्त गर्ने गरी अघि बढ्छ, पार्टीको आगामी महाधिवेशनमा पार्टी एक ढिक्का हुन्छ र यसले आगामी सबै तहका निर्वाचनमा पार्टीमा बहुमत हासिल गर्न पूरा सहयोग पुग्छ ।”

पार्टीलाई महाधिवेशन केन्द्रीत मात्रै नभएर तीन तहको निर्वाचन केन्द्रीत भएर अघि बढाउने उहाँको भनाइ थियो । गठबन्धनको सरकार सञ्चालन गर्न सहज नभएको भन्दै उहाँले सबैलाई मिलाएर अघि बढ्ने बताउनुभयो ।

सरकारको एक सय दिन सफल रहेको भन्दै उहाँले सरकारले अरु धेरै कामका अतिरिक्त चार वटा महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“सरकार गठन भएपछि जनतालाई कोभिड विरुद्धको खोप, पराराष्ट्र नीति, भ्रष्टाचार नियन्त्रण र संवैधानिक आयोगमाथिको हस्तक्षेप रोकिएको छ ।”

वर्षाका कारण भएको क्षतिको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताउँदै उहाँले उचित राहतको व्यवस्था गर्नुपर्छ भन्नुभयो । उहाँले हालैको बाढीपहिराका साथै चाडपर्वको समयमा भएका दुर्घटनाका मृतक र घाइतेलाई उचित क्षतिपूर्ति दिन आफूले प्रधानमन्त्रीलाई आजै भेटेर आग्रह गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.