राजनीति

प्रधानमन्त्री देउवा बाढी-पहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षण सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पुर्याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिनुभयो ।

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पुर्याएकोमा आफू दुःखी बनेको बताउनुभयो ।

“मौसमविद्ले जलवायु परिवर्तनका कारण ठूलो महाविपत्तिले क्षति पुगेको भनिरहेका छन्,” उहाँले भन्नुभयो, “सबैभन्दा बढी क्षति सुदूरपश्चिममा पुर्याएको छ, नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको छ, समयमै राहत उपलब्ध गराउदछौं ।”

प्रधानमन्त्री देउवा बाढी पहिरो प्रभावित क्षेत्र बझाङको चैनपुर पुग्नुभएको छ । उहाँले चैनपुरमा बाढी र पहिरोबाट भएको क्षतिको जानकारी लिएका उहाँको सचिवालयले जानकारी दिएको छ ।

सुदूरपश्चिममा बाढी र पहिरोले बझाङ र डोटी जिल्लामा बढी क्षति पुगेको छ । बाढीका कारण डोटीमा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै बझाङमा २१ जना हराइरहेका छन् ।

प्रधानमन्त्रीसहितको टोली बिहीबार बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो । प्रधानमन्त्री देउवा बिहीबार बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाड जाने कार्यक्रम छ ।

ढुंगाडबाट डडेलधुराको सदरमुकाम खलंगा र जोगबुढा, कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन् । धनगढीबाट उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्रीलाई कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का लगायतसँग विमानस्थलमा स्वागत भेट गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.