कर्पोरेट/पर्यटन

दुई वर्षयता सुनसान हिमालपारिको जिल्लामा बढ्यो चहलपहल

संसारभरका पर्यटकका लागि अद्भूत थलो मुस्ताङको भौगेलिक वनावट र पुरातात्विक महत्वका क्षेत्रहरु यति आकर्षक छन् कि यहाँ आउने जो कोही मन्त्रमुग्ध हुन्छन् । यो जिल्ला पुग्न हिमाल पार गरेर जानु अर्को आकर्षण भएकाले मुस्ताङलाई हिमालपारिको जिल्ला भनिन्छ ।

यतिबेला मुस्ताङमा चहलपहल बढेको छ । मुलुकमा कोरोना संक्रमणमा कमी आसंगै दुई वर्षयता सुनसान जस्तै बनेको मुस्ताङमा दशैंलगत्तै आन्तरिक पर्यटकको चहलपहल देखिएको हो । लामो समयसम्म कोरोनाले घरभित्रै थुनिएर बस्न बाध्य सर्वसाधारण यतिखेर भ्रमणका लागि मुस्ताङ पुगेका छन् ।

दशैंको टीकालगत्तै पछिल्ला दिनमा मुस्ताङमा पर्यटकको आगमन बढिरहेको थासाङ गाउँपालिका–४ घाँसास्थित होटेल वल्र्ड मुस्ताङका सञ्चालक विक्रम गौचनले जानकारी दिनुभयो ।

देशका विभिन्न स्थानबाट आएका पर्यटकहरू पोखराबाट स्थल मार्ग हुँदै कुस्मा बेनी हुँदै मुस्ताङसम्म आउने गरेको उहाँले जानकारी दिनुभयो । कोरोना जोखिम कायमै रहेका कारण घाँसामा स्वदेशीका लागि दुवै मात्रा लगाइएको खोपको कार्ड वा पिसिआर रिपोर्ट वा एन्टिजेन परीक्षण रिपोर्टमध्ये एक र विदेशी पर्यटकको हकमा पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।

पछिल्ला समयमा नेपालीमा पनि घुमफिर संस्कृतिको विकास हुँदै गएका कारण आन्तरिक पर्यटकहरू घुमफिरमा निस्कने गरेका छन् । मुस्ताङ आउने अधिकांश पर्यटक यहाँको भूबनोटको दृश्यावलोकनसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्ने गर्दछन् ।

मुस्ताङ आएकामध्ये कतिपय मुक्तिनाथको दर्शन गरेर मात्रै फर्कन्छन् भने कतिपय उपल्लो मुस्ताङ लोमन्थाङ पुगी नेपाल र चीनबीचको कोरोना नाकासम्म पुगेर फर्कन्छन् । पछिल्लो समय मुस्ताङका विभिन्न स्थानमा सुविधासम्पन्न होटेल निर्माण हुँदै गएका कारण पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।

विगतमा मुक्तिनाथ दर्शनका लागि जाने दर्शनार्थीले होटेल नहुँदा खानेकुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जानुपर्ने बाध्यता पछिल्ला पुस्ताका लागि एकादेशको कथा जस्तै बनेको छ । पछिल्ला वर्षमा यहाँ बनेका सुविधासम्पन्न होटेलमा पोखरा, काठामाडौँमा जस्तै सबै किसिमका सेवासुविधा उपलब्ध हुने गरेको होटेल ग्रान्ड साम्बाला मुक्तिनाथका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो । दशैंको दिनपछि देखिएको आन्तरिक पर्यटकको चहलपहलले आफूहरूलाई उत्साहित बनाएको उहाँले बताउनुभयो ।

तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि भारतीय पर्यटकको आगमन ह्वात्तै बढेकामा कोरोना कहरका कारण दुई वर्षयता खासै भारतीय पर्यटक मुक्तिनाथ पुग्न सकेका छैनन् । कोरोनाको कहर साम्य भएसँगै आगामी दिनमा भारतीय पर्यटकको आगमन पूर्ववत् रूपमा नै बढ्ने विश्वास लिइएको पर्यटन व्यवसायीहरूले बताए ।

मुस्ताङमा पर्यटकको आगमन बढे पनि केही दिनयता परेको पानीका कारण यहाँ जाने मार्गअन्तर्गत काभ्रे डाँडा, रुप्से लगायतका स्थानमा बाटो बिग्रँदा यात्रुहरूले समस्या भोग्नुपरेको छ । यात्रुको सहजताका लागि बिग्रेभत्केका बाटोमा सवारी साधन नरोकियोस् भन्ने उद्देश्यका साथ स्थानीयवासी एवम् राज्यका सरोकारवाला निकायको पहलमा रोकिएका बाटो खुलाउने र सवारीसाधन सञ्चालनमा ल्याउने पहल पनि भइरहेको छ ।

पछिल्ला वर्षमा सडकको पहुँच र यातायातको सुविधा वृद्धि हुँदै गएसँगै मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायीको तर्क छ । होटेलमा पूर्वाधारको विकासका साथै बेनी–जोमसोम–मुक्तिनाथ सडक क्रमशः व्यवस्थित बन्दै जान थालेका कारण पनि नेपाली र भारतीय तीर्थालुको आवागमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । कोरोनाको कहरले दर्शनार्थीको आगमन प्रत्यक्ष प्रभावित भए पनि मन्दिर खुलेसँगै यस वर्ष स्रोह्र श्राद्धको समयदेखि नै फाट्टफुट्ट धार्मिक पर्यटकको आगमन बढेको र दुर्गा पक्ष सुरु भएपछि दिनानुदिन दर्शनार्थीको चहलपहल बढ्दै गएको उहाँले बताउनुभयो ।

मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मानिन्छ । मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रूपमा लिइन्छ । तपस्याका क्रममा भगवान्को शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा यहाँ रहेको किंवदन्ती छ । यहाँका १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वासका कारण पनि देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

दशैंयता जोमसोम, मुक्तिनाथ हुँदै उपल्लो मुस्ताङ लोमन्थाङसम्म आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढिरहेको मेस्टिक होटेल लोमन्थाङका सञ्चालक राम गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button