खेल

नवौं राष्ट्रिय खेलकूद भव्य समापन

गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समापन गरिएको छ । बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्नुभएको हो ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको बताउनुभयो ।

चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेलकौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।”

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी सङ्ख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएको थियो । छ हजारभन्दा बढी खेलाडीले चार सय सात स्वर्णलगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए ।”

प्रतियोगिताको दौरानमा हाम्रा राष्ट्रिय खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कतिपय विधामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत राख्न सफल भएको उहाँले बताउनुभयो । प्रतियोगिता सफलताका साथ सम्पन्न गरेर हामीले खेलकुद क्षेत्रको विकासमा नयाँ इतिहास बनाएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ खेल प्रतियोगितमा एक जना खेलाडीको दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको भन्दै प्रधानमन्त्रीले दिवङ्गत खेलाडीप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । आगामी दिनमा यस प्रकारका दुःखद् घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन पनि उहाँले सम्बद्ध सबैलाई निर्देशन दिनुभयो ।

प्रतियोगिताको समाप्तीसँगै यसका क्रममा सिकिएका शिक्षाबाट कमजोर पक्षलाई आगामी दिनमा सुधार गर्नेगरी अघि बढ्न आवश्यक भएको उहाँले बताउनुभयो ।

खेलकुदलाई गाउँघरदेखि सहर बजारसम्म अझ लोकप्रिय बनाउँदै आम जनमानसको पहुँचसम्म पु¥याउन मद्दत गर्ने यस किसिमको प्रतियेगिताले देशमा खेल, भावना, सद्भाव बढाउन मद्दत गर्ने बताउँदै उहाँले सबैमा खेलकुदको महत्व र उपयोगिताबारे समाचार सम्प्रेषण गर्दै स्वास्थ्य र अनुशासित जीवनको सन्देशसमेत दिने उल्लेख गर्नुभयो ।

खेल आयोजना क्षेत्रमा नयाँ भौतिक पूर्वाधार संरचनाको निर्माणमार्फत खेलकुदका साथसाथै आर्थिक विकासमा पनि टेवा पुग्ने बताउँदै प्रधानमन्त्री देउवाले वर्तमान विश्वमा खेलकुद देशको नाम, पहिचान, प्रतिष्ठा र यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिँजाउने माध्यम रहेको बताउनुभयो ।

सरकारले खेल क्षेत्रलाई अर्थतन्त्र, कूटनीति र पर्यटनसँग पनि आबद्ध गर्दै यस क्षेत्रको दीगो र चौतर्फी विकास गर्ने नीति लिएको भन्दै उहाँले बर्तमान विश्वमा खेलकुद क्षेत्रको नतिजा बहुआयामिक हुने कुरालाई मध्यनजर गर्दै खेलकुद क्षेत्रको समग्र विकास तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले जोड दिँदै आएको उल्लेख गर्नुभयो ।

सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले प्राप्त गरेको उपलब्धि प्रशंसनीय भएको भन्दै उहाँले नेपाली खेलाडीले विभिन्न कठिनाइका बाबजुद स्वदेश तथा विदेशमा आयोजित प्रतिष्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उँचो बनाएको बताउनुभयो । आगामी दिनमा खेलाडी तथा प्रशिक्षकको उच्च मनोबलका साथ आफ्नो क्षमता र प्रतिभा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा र यस अभिवृद्धि गर्दै जान योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सरकारले खेलकुदमार्फत राष्ट्रको सान र इज्जत उँचो बनाउने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई प्रोत्साहित गर्न र उनीहरूको मनोबल उच्च राख्न विभिन्न सम्मान कार्यक्रम तथा नगद पुरस्कार वितरण गर्दै आएको र यसलाई आगामी निरन्तरता दिँदै थप विस्तार गर्दै लैजाने पनि उहाँले बताउनुभयो । खेलाडीको बीमा, मासिक वृत्ति र औषधोपचार सुविधालगायत क्षेत्रमा पनि सरकारले गृहकार्य गरेको उहाँको भनाइ छ ।

राष्ट्रको गौरव खेलाडीलाई यथासम्भव आर्थिक तथा गैरआर्थिक सुविधा र प्रोत्साहनको व्यवस्था गरी उनीहरूको ध्यान खेलकुदमा लगाउने र उनीहरूलाई आफू संलग्न खेलमा उत्कृष्ट प्रदर्शन गर्नसक्ने वातावरण निर्माण सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । खेलकुद क्षेत्रमा राज्यको लगानी मात्र पर्याप्त नहुने बताउँदै उहाँले यसलाई निजी क्षेत्रको लगानीलाई पनि प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.