जन सरोकार

नौजना मान्छे मारिसकेको भारतीय बाघ नेपाली प्राविधिक टोलीद्वारा नियन्त्रण

भारतमा नौ जना मान्छे मार्ने बाघ नियन्त्रणमा लिन भारतीयहरुले नसकेपछि नेपाली प्राविधिक टोलीले कुशलतापूर्वक नियन्त्रणमा लिएको छ ।

भारतको बाल्मिकी टाइगर रिजर्भको अनुरोधमा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली भारत पुगेर बाघ नियन्त्रणमा लिन सहयोग गरेको हो । बाल्मिकी टाइगर रिजर्भ बिहार प्रदेश पश्चिम चम्पारण जिल्लाको उत्तर–पश्चिमी भागमा अवस्थित छ ।

चम्पारण जिल्लाको वेतिया गोवरदन भन्ने स्थानमा पुगेर बाघ नियन्त्रणका लागि प्राविधिक सहयोग गरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले बताउनुभयो । निकुञ्जको सीमावर्ती क्षेत्रमा पसेको बाघले पटक–पटक मान्छे मारेपछि सहयोगका लागि चितवन राष्ट्रिय निकुञ्जलाई अनुरोध गरिएको थियो ।

यहाँबाट डा श्रेष्ठको नेतृत्वमा प्राविधिक किरण रिजाल, तीर्थ लामा, टीका थारू, रमेश चौधरी र तेन्जिङ चौधरी गत असोज २६ गते त्यसतर्फ जानुभएको थियो ।

बाघ रहेको स्थान ‘लोकट’ गरेर दुई हात्तीको साहयताले नियन्त्रणमा लिइएको डा श्रेष्ठले बताउनुभयो । धेरै मान्छेको ज्यान लिइसकेकाले भारत सरकारको निर्देशनमा सो बाघलाई नियन्त्रणमा लिएपछि उनीहरुले सुट गरेर मारेको उहाँले जानकारी दिनुभयो ।

“एक महिनादेखि त्यहाँको प्राविधिक टोली बाघ नियन्त्रणका लागि खटिएको थियो, तर नसकेपछि हामीसँग सहयोग मागिएको हो”, उहाँले भन्नुभयो, “बाघले मान्छे निरन्तर मारेपछि त्यहाँका स्थानीय र प्रहरी प्रशासनबीच द्वन्द्व चलेको थियो ।”

बाघले यति धेरै मान्छे मारेको चम्पारण जिल्लामा पहिलो घटना हो । यो क्षेत्र नेपालको ठोरी नाकाबाट करिब ७० किलोमिटरको दूरीमा पर्छ ।

पहिलोपटक नेपालको प्राविधिक टोली भारत पुगेर वन्यजन्तु नियन्त्रणमा लिन सहयोग गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

“वन्यजन्तुको उद्धारमा हाम्रा प्राविधिकको अनुभव धेरै छ”, उहाँले भन्नुभयो, “त्यहाँ महिनौँसम्म नियन्त्रणमा लिन नसकेको बाघ यहाँका प्राविधिक पुगेको केहीबेरमै नियन्त्रणमा आयो ।”

विसं २०७४ मा यहाँबाट बगाएर भारत पुर्याएको गैँडा यहाँका प्राविधिकहरू नै पुगेर डार्ट गरेर ल्याएका थिए । त्यसबाहेक यहाँका प्राविधिक भारतमा वन्यजन्तु उद्धार र नियन्त्रणमा लागि गएका छैनन् ।

चितवन राष्ट्रिय निकुन्जमा वन्यजन्तु उद्धार र नियन्त्रणका लागि आठ जना प्राविधिक छन् । खुला सिमानाका कारण चितवन राष्ट्रिय निकुञ्ज र बाल्मिकी टाइगर रिजर्वमा बाघ ओहोरदोहोर गर्ने गर्छन् । बाल्मिकी टाइगर रिजर्भमा ५१ बाघ छन् भने चितवन राष्ट्रिय निकुन्जमा एक सय २८ बाघ छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.