जल/वातावरण

सरकारले हात झिकेपछि प्रदेश र स्थानीय तहहरु निःशुल्क उपचारको घोषणा गर्दै

सरकारले कोरोना संक्रमितको उपचार र परीक्षण नगर्ने घोषणा गरेपछि प्रदेश र स्थानीय तहहरुले निःशुल्क उपचारको घोषणा गर्न थालेका छन् । यसै क्रममा गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो । विभिन्न सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा क्रियाप्रतिक्रिया आएकामा प्रदेश सरकार प्रदेशवासीलाई सामाजिक सञ्जालमा आएका कुुरामा विश्वास नगर्न आग्रह गर्र्दै यसअघि जेजस्ता कार्य गर्दै आएको थियो त्यसलाई निरन्तरता दिने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दशैँभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कोरोनाको तीव्र सङ्क्रमण बढिरहेको अवस्थामा मुख्यमन्त्रीसहित सबै मन्त्रीले विगतमा पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्नुभएकामा हालै दशैँ खर्च भनेर आएको भत्ता गण्डकी प्रदेश सरकारको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

सरकारले नेपालीका चाडपर्व दशैँ, दीपावली, नेपाल संवत्, छठलगायतका पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्डको पालना गर्न प्रदेशवासीमा आग्रह गरेको छ ।

त्यसैगरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलका सबै सदस्यले दशैँभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । दलको बैठकले चाडपर्वभत्ता कोरोना महामारी नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरिएको दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । प्रदेश सभामा नेकपाका ४० सदस्य छन् ।

गोदावरीले निःशुल्क स्वाब परीक्षण गर्ने

ललितपुर– गोदावरी नगरपालिकाले निःशुल्क स्वाब परीक्षण गर्ने भएको छ । गोदावरीले बुधबार एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका नगरवासीको कन्ट्याक्ट टे«सिङ गर्दा सम्पर्कमा आएका व्यक्तिलगायत परिवारको निःशुल्क पिसीआर परीक्षण गर्ने जनाएको छ ।

कोभिडले नगरवासीमा पर्ने जोखिम न्यूनीकरणका लागि सो व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आजबाट कोरोनाको लक्षण देखिएका नगरवासीको हितमा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रहेको रकम खर्च गर्ने भएका छौँ । वडा नं ६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा लगेर यी व्यक्तिको निःशुल्क स्वाब परीक्षण गराउने व्यवस्था गरिसक्यौं ।”

यसैगरी गोदावरीले वडा नं ४ बडिखेलस्थित कोरियन होटलमा महिनाको रु दुई लाख ५० हजार तिरेर कोरोना सङ्क्रमितलाई राख्ने व्यवस्था गरिसकेको छ । नगरपालिकाले पहिलो चरणमा तीन महिनाका लागि भदौदेखि यही कात्तिकसम्म सो होटल भाडामा लिएको थियो । अहिले पनि त्यहाँ छ जना कोरोना सङ्क्रमितलाई राखेर सेवा दिइरहेको नगरप्रमुख महर्जनले जानकारी गराउनुभयो ।

उहाँका अनुसार यसअघि होटल आइसोलेसनमा राखिएको १७ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किसकेको छ । घरमा आइसोलेसन बस्न उपयुक्त वातावरण तथा कोठालगायत शौचालय नभएका कोरोना सङ्क्रमितलाई नगरपालिकाले होटल आइसोलेसनमा राखेर उपचार गर्दै आएको छ । यसका साथै नगरपालिकाले प्रत्येक सङ्क्रमितलाई दैनिक रु एक हजारको खाना र खाजाको व्यवस्था समेत गर्दै आएको नगरप्रमुख महर्जनको भनाइ छ । “यस होटलमा ५० शय्याको सुविधा छ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका कोरोना सङ्क्रमितलाई राख्न यो होटल भाडामा लिएर सहयोग गरिरहेका छाँै ।”

गोदावरीमा मङ्गलबारसम्म कोरोना सङ्क्रमित सङ्ख्या ४६८ पुगेको छ । तीमध्ये उपचार पछि निको भएर घर फर्किनेको सङ्ख्या २२७ जना रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने २३४ रहेका छन् । अहिलेसम्म कोरोना सङक्रमणबाट सात जनाको मृत्यु भइसकेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.