जन सरोकार

‘अप्रेसन रिचार्ज कार्ड’- चोरी भएका चारवटा मोटरसाइकल सहित तीनजना पक्राउ

प्रहरीले मोबाइल फोन रिचार्जको पिन नम्बर पछ्याउँदै जाँदा एकैदिन चोरी भएका चारवटा मोटरसाइकलसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले रामेछापको ठोसे ३ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नपा ८ बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखाको भीमेश्वर नपा ४ घर भई हाल बोडेमै बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका ७ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नपा ९ मूलपानी बस्ने २९ वर्षीय मनोज लामालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट लु ६३ प ७०७४ नम्बरको २२० सीसीको एनएस पल्सर मोटरसाइकल, प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सीसीकै रातो कालो रंगको पल्सर मोटरसाइकल, प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सीसीकै नीलो पल्सर मोटरसाइकल र प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सीसीकै सेतो रंगको एनएस पल्सर मोटरसाइकल बरामद भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

कँडेलका मध्यपुर थिमि नपा ३ कौशलटारबाट सोमबार बिहान चोरी भएको लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरेर प्रदेश ३–०२–०१७ प ६१६७ बनाइसकेको थियो । सोही मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई पछ्याउने क्रममा थप दुई व्यक्ति र ३ वटा चोरीका मोटरसाइकल बरामद भएको हो ।

त्यस्तै मध्यपुर थिमि नपा ३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलबाहेक अन्य चोरीका मोटरसाइकलका सवारी धनी खुल्न आएको छैन ।

सोमबार बिहान अन्दाजी ९ बजे आफ्नै घरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोरी भएपछि मध्यपुर थिमि नपा ३ कौशलटार बस्ने रोहन पराजुलीले तत्काल प्रहरीलाई खबर गरे । रोहनको लु ६३ प ७०७४ नम्बरको एनएस २०० सीसी बजाज कम्पनीको कालो रङ्गको पल्सर मोटरसाइकल हराएको सूचना प्राप्त हुनासाथ वृत्त र अपराध महाशाखा पीसीसीबीको संयुक्त टोली परिचालन भएको थियो ।

घटनास्थलमा सूक्ष्म अनुसन्धान गर्दा चोरी भएको ठाउँ नजिकै शंकास्पद व्यक्ति आई मोबाइलको रिचार्ज गरेको र सोही समयमै मोटरसाइकल हराएको भन्ने यकिन भएको थियो । सोही स्थानमा रिचार्ज कार्डसमेत फेला परेको थियो । सोही रिचार्ज कार्डलाई आधार मानेर ‘अप्रेसन रिचार्ज कार्ड’ नामबाट अनुसन्धान सुरु गरेको थियो ।

उक्त रिचार्ज कार्डको आधारमा चोरी भएको करिब ५ घन्टामा मोटरसाइकलसहित चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.