जन सरोकार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ ।

अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाउनुभएको छ । उहाँका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले रु सात हजार धरौटी राख्नुपर्ने र प्रतिदिन रु दुई हजार शुल्क तिर्नुपर्नेछ ।

हल्का लक्षण भएकाहरु रु १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन रु तीन हजार ५०० शुल्क तिर्नु पर्ने छ । मध्यम लक्षण भएका बिरामीले रु ३५ हजार धरौटी र प्रतिदिन शुल्क रु सात हजार ५०० तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले रु ६० हजार धरौटी राखी दैनिक रु १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि रु दुई हजार २०० शुल्क तोकेको छ ।

यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो । सरकारले कोरोना सङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने मापदण्ड बनाएको छ । प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

३९६ जनाको स्वाब फिर्ता

शुल्क निर्धारण गरिएपछि धरान उपमहानगरपालिकाले बुधबार संकलन गरेको स्वाबको नमूना प्रतिष्ठानले फर्काएको छ । स्वास्थ्य मन्त्रालयले निःशुल्क नलिनू भनेपछि उपमहानगरले सङ्कलन गरेको स्वाब परीक्षण नगरी फिर्ता गरेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.