जन सरोकार

कहिले आउला वाग्मतीमा टनका टन फोहर नथुप्रने दिन

राजधानी काठमाडौं उपत्यकाको सभ्यतासंग जोडिएको, धार्मिक महत्वको पवित्र वाग्मती नदी स्वच्छ राख्न स्वयंसेवीहरु विगत ४ सय ९३ हप्तादेखि निरन्तर सक्रिय रहेका छन् ।

विगतको तुलनामा नदी सफा त भएको छ तापनि नदी अझै नदी जस्तो छैन । हरेक हप्ता टनका टन फोहर निकाल्ने गरिएको छ । यसै क्रममा हिजो शनिबार थापाथलीको प्रसुती गृह पछाडिको बागमती किनारबाट करिब साढे एक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, आयोजना प्रमुख सुवास बस्नेत, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकारलगायत अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा बागमती फोहर उन्मुलन उपभोक्ता समिति, नेपाल प्रहरी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुलगायत संस्थाको संस्थागत सहभागिता थियो । अर्को हप्ता शनिबार छठ पर्वको तयारीस्वरुप गुह्येश्वरीअघिको नदी किनारमा सफाइ गरिने छ ।

विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता बागमती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । सफाइमा अभियानकर्मीसहित स्थानीयवासी र जनप्रतिनिधिको पनि सहभागिता रहने गरेको छ ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकुल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको बताइएको छ ।

यसै गरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले बताएका छन् । बागमती सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको बागमतीलगायत यसका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको छ ।

ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी छ । सफाइ अभियान जारी रहे पनि दिगो हुन नसकेकमा भने चिन्ता व्यक्त हुन थालेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.