नारी शक्तिको भक्ति, सम्मान र झुकावको शास्त्रीय पर्व बडा दशैं
गीता श्रेष्ठ

नेपालीहरुको महान पर्व बडा दशैं घरघरमा भित्रिसकेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण यस वर्षको पारिवारिक मेलमिलाप र भेटघाटको यो पर्व यसअघिका जस्ता उल्लासमय नहुने भएको छ । शास्त्रीय विधि अनुसार देवी भगवतीको पूजा आराधना गरेर एकल घरपरिवार मिलेर दशैं मनाउनुपर्ने बाध्यता छ । दशैं व्यक्तिगत रुपमा जसरी मनाइए पनि यो हाम्रो मौलिक पर्व हो, ऋतु, प्रकृति र नारी शक्तिको महिमा गाउने, नारी शक्तिका अघि नतमस्तक भएर भक्ति गर्ने यो पर्वले महिला पुरुष समान मात्र हैन पुरुषभन्दा महिला धेरै अघि छन् भन्ने सन्देश दिन्छ ।
हाम्रा शास्त्रहरुले महिलालाई उच्च स्थान दिएको छ– शक्ति, सामथ्र्य र दायित्व निर्वाहका लागि अनि यसैको भक्तिस्वरुप पनि दशैं मनाइन्छ । पौराणिक मान्यताको यो वास्तविकता संस्कृत साहित्यमा लिपिबद्ध भएको छ र व्यवहारतः हरेक चाडपर्वमा नारीलाई उच्च स्थान दिने गरेकै छ । विडम्बना यो मान्यता, सम्मान र स्थान चाडपर्वमा नै सीमित भएको पाइन्छ । राज्यदेखि घरसम्म नै यस्तै व्यवहार छ । तर, वास्तविकता के हो भने आफ्नो शक्ति आफैंले चिन्न नसकेर आजभोलि हेपिएको, दबिएको, दासत्व स्वीकार्न बाध्य भएको अनेक फुर्कावाला आरोप र टिप्पणी गर्ने पश्चिमाहरुको नाराको पछि कुदेर सांस्कृतिक अतिक्रमणलाई निम्ता दिइरहेका छौं ।
पूर्वीय सभ्यता मातृसत्तात्मक थियो र धार्मिक–सामाजिक अनुष्ठानहरुमा यो परम्परा अझै कायम छ भने महिलाले आफूले आफूलाई चिन्न नसकेको भन्न कुनै अप्ठ्यारो पर्दैन । यस्तै महिलाको उच्च गुणवत्ता, शक्ति र सामथ्र्यको महिमा गाउँदै पुरुषले नतमस्तक भएर नारी शक्तिको उपासना गर्ने पर्व हो दशैं ।
दशैंमा आद्यशक्तिका रूपमा दुर्गा भवानी, महाकाली, महालक्ष्मी, महासरस्वतीको अनुष्ठान, पठनपाठन, होमादि कार्य उल्लासमय वातावरणमा सम्पन्न हुन्छन् । विजयाको शुभकामनाको यो परम्परामा मान्यजनबाट आशीर्वाद लिने र स्नेह दिने गरिन्छ । साथै नौ दिनसम्म जीवनको सुरक्षार्थ कवचका रूपमा ‘दुर्गाकवच’ पाठ गरिन्छ । यसैबाट स्पष्ट छ, यो भूखण्डका पुरूषवर्ग मातृशक्तिप्रति समर्पित र मातृशक्तिमै निर्भर रहेर जीवन यापन गर्न अभ्यस्त थिए र छन् पनि ।
प्रश्न के त ?
जबसम्म मानिसले आफ्नो क्षमता चिन्न सक्दैन तबसम्म उ अरुको दयाको पत्र बनिरहन्छ । विश्वमै महिलाका कुरा यस्तै पाइन्छ । धनी हुन् वा गरीब देश आधुनिक कालमा महिलाका समस्या एउटै छन् । यसको कारण महिलाले आफ्नो शक्ति र सामथ्र्य नबुझ्नु हो । पश्चिमा मुलुकले घोकाइदिएको स्वतन्त्रताको पाठ पढेर नेपाली महिला कहिल्यै माथी पुग्दैन् । यसका लागि आफूले आफूलाई चिन्नुपर्छ । “लक्ष्मी, सरस्वती र दुर्गाको एउटै रुप मै हुँ र ममा नै सबै शक्ति र अधिकार निहीत छ” भन्ने चेतना जागृत हुनु आवश्यक छ ।
यी भए पौराणिक कुरा र यिनै कुराहरुलाई मनन गर्ने हो भने महिले चर्चामाा ल्याउने गरिएका महिल अधिकारका समस्या स्वतः समाप्त भएर जान्छ । महिलामा शक्ति छ, ज्ञान छ र धन पनि छ भने उनीहरु किन कमजोर र कसरी कमजोर ?
अन्त्यमा, सबैमा सुख, शान्ति, समृद्धिको शुभकामना सहित सामाजिक दुरी कायम राखेर बडा दशैं मनौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं । नवदुर्गा भवानीले हामी सबैको कल्याण गरुन !
(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)
प्रतिक्रिया राख्नुहोस्