बिचार

नेपालमा देखिएका सपना र जापानको भोगाइ

विकास ओली

यहाँ मेरा आफ्नै सपनाहरु छन् यहाँ मेरा आफ्नै भोगाइहरु रहेका छन् जब म केही गर्नुपर्छ भन्ने र केही बुझ्ने उमेरमा जापानमा आएँ, मेरा अनगन्ति सपनाहरु थिए । त्यहि सपना पूरा गर्न जापान आएँ । म परदेशिदै गर्दा आमाको गहभरी आँसु, बाबाको त्यो ठूलो सपना पुरा गर्ने सोचमा जापान प्रवेश गरेको म, रोजगारी तथा उच्चशिक्षाका लागि जापान प्रवेश गरेको म, म जस्ता कयौं नेपालीहरुलाई विदेशी भूमिमा पठाउने एकमात्र ठाउँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सोही स्थानबाट हाम्रो यात्रा सुरु भयो, प्रत्यक्ष रुपमा कहिल्यै पनि नदेखेका त्यो ठूलो विमानमा चढेर बाहिरिदै गर्दाको म, लगायत मेरा जस्तै अनेकानेक सपनाहरु देखेर विदेशी भूमिमा अर्थात (जापान) प्रवेश गर्ने साथीहरुको सपना पक्कै पनि यस्तै हुनुपर्छ ।

सानो छँदा ठूलो भएपछि त के बन्छस् भनेर सोध्दा कसैले म विदेश गएर धेरै पैसा कमाएर ठूलो मान्छे बन्छु, कसैले डक्टर, कसैले पाइलट, कसैले शिक्षक, कसैले डाईभर त्यस्तै अनगन्ति सोच बनाएर हुर्किएका हामी आज आएर साँचिक्कै विदेशी बन्नुपरेको छ । वास्तवमा आफ्नो देश छाडनु हामी नेपालीहरुको लागि कतिका सुनौला सपना, कतिका नयाँ योजना तथा धेरैका बाध्यताहरु हुनसक्छ । यीमध्ये कुनै एक परिधिभित्र रहेर जन्मभूमि छाडनु पक्कै पनि रहर त थिएन होला । म पनि नेपाल छोडेर जापान प्रवेश गरेको झन्डै १ बर्ष पुरा भएछ । धेरै सपनाको भारी बोकेर जापान प्रवेश गर्दै गर्दा एक्लो महशुस भए तापनि नरमाइलो चाहिँ त्यति धेरै पनि भएन । किनकी विगत छ सात वर्ष भैसकेको थियो घर छोडेर बाहिर बसेर पढ्न थालेको पनि अनि यता आएपछि नेपाली दाजुभाइ दिदिबहिनीहरुसँगको भेटघाट, नेपाली समुदायहरुसँगको घुलमिलले गाउँघरको माया भुलाउने प्रयास गरें ।

नेपालमा पार्टटाइम जागिर गर्दै कहिलेकाहीं मात्र जापानिज भाषाको अध्यायन गरेको म, जापानिज भाषालाई नेपालमा प्रायः नेपालीमै उल्था गरेर पढियो । त्यसैले पनि होला प्रवेश क्रममा धेरै समस्या परेको । जापान प्रवेश गर्दैगर्दा भाषा पनि त्यति राम्रो थिएन, भाषाको कुनै समस्या पर्ला भन्ने कहिले पनि सोचिएन तर यता आएपछि थाहा भयो कि भाषा पढेको भए हुँदो रैछ भनेर । नेपालबाट आउने बेला सामान्य कुरा मात्र अध्ययन गरेर आएको कारणले रोजगारी तथा अध्ययनमा अप्ठ्यारो महशुस गरियो ।

जापान प्रवेश गरेको भोलिपल्टबाटै स्कूल जान सुरु भयो । अर्काको भाषा केही पनि नबुझिने सारै गाह्रो भयो, नेपाली शिक्षकले अप्ठेरो परेको बेलाभाषा सहयोग गरेता पनि बाँकी समयमा जापानीज शिक्षकले के भनेको भनेर छुट्याउन गाह्रो हुन्थ्यो, धेरैजसो रोजगारीसँगै उच्चशिक्षाको लागि जापान आएका विद्यार्थीहरु अध्ययनबाहेक अतिरिक्त समयमा काम गरेर आफ्नो स्कूल फि, जीवनयापान खर्च जुटाउनु पर्दछ । जापानको नियमअनुसार विदेशी विद्यार्थीले एक हप्तामा २८ घण्टा मात्र कामगर्न पाउने अनुमति छ, तर त्यसले मात्र स्कुल फि, जीवनयापन खर्च र जापान आउँदा लगाएको ऋण तिर्न त्यति सजिलो छैन ।

आउने समयमा एक वर्षभित्रै लिएको ऋण सबै तिरेर आमाबुवाको त्यो ठूलो सपनाको सुरुवात गर्छु भएको थिएँ, तर बोलेका सबै कुरा पूरा गर्न गाह्रो हुँदो रहेछ । यी विभिन्न समस्यालाई पछि पार्दै अगाडि बढ्दै गर्दा फेरि अर्काे ठूलो समस्या आइलाग्यो, आफ्नो कठोर संघर्षमा विद्यार्थी जीवन अगाडी बढाउँदै गर्दा विश्वब्यापी फैलिएको कोभिड–१९ कोरोना भाइरसको संकटले झन् जीवनयापान अस्तव्यस्त हुनपुग्यो पाएको त्यही काम पनि बन्द भयो भने कसैको २८ घण्टा पनि घटेर १५–१६ घण्टामा झर्यो । यसबीचको दैनिकी निकै कठिन र चुनौतिपूर्ण बनेको छ । कोभिड–१९ ले जापान मात्र नभएर संसारका सबैजसो देशहरुमा यसको प्रभावसँगै लकडाउन, बन्द भएकोले विद्यालय, होटेल, रेस्टुरेन्ट, सुपरमार्केट, डान्सबार, नाइट क्लब, टुरिजम ट्राभल, औद्योगिक क्षेत्र, कलकारखाना लगायतका सबै ब्यावसायीक निकायहरुमा कार्यरत कामदारहरु निकै मर्कामा परेका छन् । यसको सबैभन्दा बढी प्रभाव जापानमा रहेका विदेशी (अर्थात) नेपाली विद्यार्थीहरुमा पनि परेको छ ।

त्यसै क्रममा जापान सरकारले कोभिड–१९ बाट प्रभावित भएको भन्दै आफ्नो नागरिकसँगै जापानवासी सबै नागरिकहरुलाई एउटै दरले प्रतिव्यक्ति १ लाख प्रदान गरेर घाउमा मलम पट्टि लगाउने काम गर्यो । त्यसको लागि जापान सरकार तथा (सिन्जो आबे सान्)लाई हृदयबाटै धेरै धेरै धन्याबाद प्रकट गर्न चाहन्छु । यो परिस्थितिमा आफू बचौं अनि अरुलाई पनि बचाऔं भन्ने अभियानमा सहभागि हौं, सबै मिलेर कोरनालाई जित्ने प्रयास गरांै । भिडभाड भएको ठाउँमा नजाऔं, मास्क, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गरौं

अन्ततः कोभिड–१९ विषम परिस्थितिको बीचमा परेको नेपालीरुको महान चाड बडा दशैको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आफन्तजन, इष्टमित्र, साथीहरु, सहकर्मी साथीहरु लगायत सबै सबैमा विजया दशमी २०७७ को हार्दिक मंगलमय शुभकामना ।

(ओली हाल जापानको फुकुओकामा अध्ययनरत हुनुहुन्छ)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.