राजनीति

नागरिकको उपचारको जिम्मा लिनु सरकारको अनिवार्य दायित्व

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सबै नागरिकलाई महामारीबाट त्राण दिन सरकारले उपचारको जिम्मा लिनु अनिवार्य दायित्व रहेको बताउँदै कोभिड–१९ ले आक्रान्त पारेको अहिलेका विषय परिस्थितिमा संयमित र संवेदनशील भई आफ्नै घरपरिवारमै बसेर दशैँ मनाउन सबैमा आह्वान गर्नुभएको छ । बडादशैँका अवसरमा दिनुभएको सन्देशमा उहाँले आफ्नै घरपरिवारमा बसी दशैं मनाउन तथा आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन दिन आग्रह गर्नुभएको छ ।

नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरून् भनी उहाँले कामना गर्नुभएको छ । जस्तोसुकै अवस्था रहे पनि आफ्नो परम्परा र संस्कृति छाड्न नसक्ने हाम्रो सभ्यता र पहिचान रहेको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले समस्यासँग जुध्दै अघि बढ्न र चुनौतीको सामना गर्न आह्वान गर्नुभएको छ ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभएको छ, “महामारीलाई आधारभूत स्वास्थ्य सेवा नभने केलाई भन्ने कुरा आउँछ, सरकारको यो मानवीय र संवैधानिक दायित्व हो ।” बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको महान् पर्व बडादशैँका उपलक्ष्यमा पूर्वप्रधानन्यायाधीश रेग्मीले सबै नेपालीमा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button