आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग हुने त्रिकोणत्मक एकदिवसीय शृंखला अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज (आइतबार) अमेरिकासँग खेल्दैछ । यूएईको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरु हुनेछ ।
सिरिजमा नेपाल, अमेरिका र घरेलु टोली यूएईको सहभागिता रहेको छ । नेपाल आज अमेरिकालाई पराजित गर्दै सिरिजमा पहिलो जित हात पार्ने योजनाका साथ मैदान उत्रदै छ भने यता अमेरिका पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।
शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुनेछ । आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग, अमेरिकासंग दोस्रो खेल १ नोभेम्बरमा तथा अन्तिम खेल र यूएईविरुद्धको दोसो खेल ५ नोभेम्बरमा खेल्ने कार्यतालिका रहेको छ ।
अमेरिका र युएईविरुद्ध हुने विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गत शनिबार नै रोहित पौडेलको कप्तानी र दीपेन्द्रसिंह ऐरीको उपकप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
टोलीका सदस्यहरुमा सन्दीप लामिछाने, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलम रहेका छन्।
आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् । नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ । नेपाल १६ खेलमा पाँचमा जित तथा नौमा हारका साथ १२ अङ्क जोडेको छ । दुई खेल वर्षाका कारण हुनसकेको थिएन ।
यस्तै अमेरिका हालसम्म खेलेका २० खेलमध्ये १४ मा जित र छमा हारका साथ २८ अङ्क जोडेदै दोस्रो स्थानमा छ । त्यस्तै हालसम्म १६ खेल खेलेको युएई भने तीनमा जित र १३ हारसहित छ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।





प्रतिक्रिया राख्नुहोस्