अर्थ

बझाङ्गका उब्जन बोहराले दशैंमा विक्री गरे ३० लाख रुपैयाँका च्याङ्ग्रा

बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरूको भेडा/च्याङ्ग्रा मासुका रूपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ । कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरू विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङ्गको साइपाल गाउँपालिकामा व्यावसायिक रूपमा भेडा, च्याङ्ग्रा पालेर मनग्य आम्नादी गर्न थालेका छन् ।

दशैंका लागि ११२ वटा भेडा, च्याङ्ग्रा पोखरामा बिक्री गरेर फर्किने क्रममा धनगढी पुगेका साइपाल गाउँपालिका–१ धलनका उब्जन बोहराले यस पटक रु ३० लाखको च्याङ्ग्राको कारोबार भएको बताउनुभयो । “साइपालबाट बिक्रीका लागि पोखरा पुगेका १२/१४ वटा ट्रक भेडा/च्याङ्ग्रा किनबेच भए”, बोहराले भन्नुभयो, “ यस पटक नयाँ व्यापारी पनि बझाङ्गबाट त्यहाँ पुगेको भेटिए ।”

उहाँका असार, साउन महिनामा आफूहरू भेडा/च्याङ्ग्रा चराउन साइपाल हिमालको पाटन हुँदै चीनको उरै भञ्ज्याङ नाका पारिसम्म वर्षौदेखि जाने गरेको बताउनुभयो । “उरै नाका वारितर्फ चीनको गोडोहाल्ना र बैँस भन्ने ठाउँमा हामीहरू हरेक वर्ष भेडा/च्याङ्ग्रा चराउन जान्छौं”, उहाँले भन्नुभयो, “ वर्षातपछि हिउँ पर्न सुरु भएपछि तल गाउँतिर झर्छौ ।” साइपाल हिमालको पाटन र चीनको सीमावर्ती भूमिमा भेडा÷च्याङ्ग्रा चराउँन जाँदा उतै टेन्टमा बास बस्ने गरेको उहाँले बताउनुभयो । “ चिनियाँहरू पनि अलि पहिलेसम्म हाम्रो क्षेत्रमा चौरीगाई चराउन आउथेँ ।” उहाँले चीनले उरैनाकासम्म आफ्नो भूमिमा यातायात सेवा विस्तार गरिसकेको बताउनुभयो ।

केही वर्षअघिसम्म डोटीको पेल्या लेकसम्म पनि बझाङ्गबाट भेडा/च्याङ्ग्रा चराउन आउने गरेको पशुपालक किसानहरूको भनाइ छ । “अहिले सो क्षेत्रमा रहेका सामुदायिक वनहरूले भेडा÷च्याङ्ग्रा चराउन गएवापत प्रति भेडा रु एक सय राजश्व लिने गरेका छन्”, साइपाल गाउँपालिका–३ काँडाका मोहन बोहराले भन्नुभयो, “ भेडा/च्याङ्ग्रा पालनको व्यवसायमा लाग्ने कृषकलाई राज्यले पनि अनुदान र सहयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।”

उहाँले आफू पनि ११० वटा भेडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेर बझाङ्ग फर्किन लागेको बताउनुभयो । “पोखरामा बिक्री गर्न एक साता जति समय लाग्यो”, उहाँले भन्नुभयो, “ गाउँमा प्रायः स्थानीयको व्यवसाय भनेकै भेडा/च्याङ्ग्रा पालन गर्ने हो ।” बझाङ्ग सदरमुकाम चैनपुरबाट साइपाल गाउँपालिका पुग्न दुई दिन पैदल हिड्नुपर्ने हुन्छ । त्यहाँसम्म पुग्न पैदल गोरेटो बाटो निर्माण भइसकेको साइपाल गाउँपालिकाले जनाएको छ ।

विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा/च्याङ्ग्रा खरिद बिक्रीमा स्थानीयहरू सोही गोरेटो बाटो प्रयोग गर्ने गरेका छन । यस पटक स्थानीय किसानहरूले च्याङ्ग्राको तौल हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर पोखरामा रु ३० हजार भन्दा बढी मूल्यमा बिक्री वितरण भएको जनाएका छन । साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले त्यहाँका किसानहरूले वार्षिक रु डेढ देखि दुई करोडको भेडा/च्याङ्ग्रा बिक्री गर्ने गरेको बताउनुभयो ।

उहाँले भेडा/च्याङ्ग्रा पालनमा सक्रिय किसानहरूलाई संघ र प्रदेश सरकारबाट अनुदान वितरण गर्ने विषयमा कुराकानी भइरहेको बताउनुभयो । सो गाउँपालिकामा जडीबुटीको व्यापार चीनसित हुने गरेको छ । उहाँले चैनपुर–ताक्लोकोट सडक खण्ड निमार्णाधीन भए पनि कामको गति सुस्त भएको बताउनुभयो । “ हाम्रो गाउँपालिकासित जोडिन अझै २/४ वर्ष लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “ट्रयाक खोल्ने काम पुस, माघमा हिउँले र वर्षातमा पानीले प्रभावित हुन्छ ।”

उता चीनले भने उत्तरी नाकाको नेपाल–चीन सीमासम्म सडक सञ्जाल विस्तार गरिसकेको उहाँले बताउनुभयो । “पहिले नेपाल–चीन सीमाबाट तीन दिन हिडेर यो नाकाबाट कैलाश मानसरोवर तीर्थ यात्रामा जान्थे”, अध्यक्ष धामीले भन्नुभयो, “चीनले सीमासम्म सडक ल्याएपछि एक दिनको यात्रामा पुगिन्छ ।” गाउँपालिकाबाट चीनसितको सीमानामा पुग्न तीन/चार दिन लाग्छ ।

स्थानीयलाई मानसरोवर जान गाउँपालिकाको सिफारिसमा चीनले जान अनुमती दिने गरेको छ । “ कोरोनाका कारण अहिले यो नाकाबाट आवागमन ठप्प छ”, धामीले भन्नुभयो, “ अरु बेला यहाँबाट वार्षिक २/३ हजार तीर्थ यात्रुहरू कैलाश मानसरोवर जाने गरेको रेकर्ड छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.