मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने : राष्ट्रियसभा उपाध्याक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने बताउनुभएको छ ।
त्यसका निम्ति संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले छठ पर्व–२०८२ को अवसरमा आज सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको लागि शुभकामना व्यक्त गर्नुहुँदै भन्नुभएको छ, “वर्तमान अवस्थामा राष्ट्रियसभा एक स्थायी संस्था भएकाले यसले नीति निर्माण, कानुन निर्माण र राजनीतिक स्थिरतामा सन्तुलन कायम गर्ने, राष्ट्रिय सहमति निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास म गर्दछु ।”
उपाध्यक्ष घिमिरेले संसद्मार्फत जनप्रतिनिधिहरूले आआफ्ना विचार राख्ने, छलफल गर्ने र सहकार्यद्वारा निष्कर्षमा पुग्ने प्रक्रियाले लोकतन्त्रलाई अझ सबल बनाउने तर्क गर्दै संविधानले निर्देश गरेको मार्गअनुसार विधायिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन कायम गर्दै राज्य सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “यस पर्वको मूल सन्देश नै विभेदमुक्त, न्यायपूर्ण, समतामूलक र सभ्य समाजको निर्माणतर्फ सबैलाई प्रेरित गर्नु हो, छठ पर्वले हामी सबैलाई धार्मिक आस्था मात्र नभई राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा एकता, सहकार्य र जिम्मेवारीका मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”





प्रतिक्रिया राख्नुहोस्