जन सरोकारस्वास्थ्य

विश्वमा बर्सेनि एक करोड ३० लाखलाई पक्षाघात, एक तिहाइले अकालमा गुमाउँछन् ज्यान

विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको पाइएको छ । विश्व पक्षाघात दिवसका अवसरमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताउनुभयो ।

“पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो । विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेण्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको डा पौडेलको भनाइ थियो ।

उहाँले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गर्नुभयो । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

डा पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निस्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन हुनुपर्दछ ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुरो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उहाँले बताउनुभयो ।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने समेत डा पौडेलको भनाइ थियो ।

आज २९ अक्टोबरअर्थात् विश्व पक्षघात दिवसका अवसरमा काठमाडौँको महाराजगञ्जदेखि सामाखुशी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको थियो । उक्त अस्पताल, नेशनल न्यूरो सेन्टर र नेपाल पक्षघात सङ्घको आयोजनामा गरिएको उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, सङ्घका पदाधिकारी एवं न्यूरो सेन्टरका कर्मचारीको सहभागीता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.