संसद पुनःस्थापना गरी जेनजीसहितको सर्वपक्षीय सरकार
ओलीले प्रधानमन्त्री दावी नगर्ने, सांसद नरहेका व्यक्ति पनि प्रधानमन्त्री बन्नसक्ने गरी संविधान संशोधनसहितका प्रस्ताव
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने गरी अहिलेको शासन प्रणालीमा सुधार सहितका ६ बुँदे मार्गचित्र अघि सार्नुभएको छ ।
मंगलबार एमालेनिकट मानवअधिकारवादी संस्था ‘नेपाल मानवअधिकार अलायन्स’ का प्रतिनिधिहरूसँगको भेटमा एमाले अध्यक्ष ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सार्नुभएको हो ।
उहाँले प्रतिनिधिसभा पुनस्र्थापना र जेनजीसहितको सर्वदलीय सरकार बनाउने, र त्यसमा आफूले दावी नगर्ने सहितको प्रस्ताव गर्नुभएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमा उल्लेख गर्नुभएको छ ।
छलफलमा ओलीले एमाले प्रतिनिधिसभा पुनस्र्थापनाकै बटमलाइनमा रहेको र त्यसपछि संविधान संशोधन गरेर जेनजीसहितको सर्वदलीय सरकार र संसदबहिरकै व्यक्तिलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताउनुभएको थियो ।
अध्यक्ष ओलीले आफ्नो प्रस्तावलाई संविधान र लोकतान्त्रिक प्रक्रियालाई पुनस्र्थापित गर्ने साझा प्रयासका रूपमा व्याख्या गर्दै संसद् पुनस्र्थापना नभई मुलुक प्रणालीगत बाटोमा नफर्किने दावी पनि गर्नुभएको छ ।
यसै गरी अध्यक्ष ओलीले सर्वपक्षीय सहमतिबाट बन्ने सरकारलाई निर्वाचनमै केन्द्रित गरिने र ३ महिनाभित्र चुनाव गराई फागुन २१ गते नै नयाँ प्रतिनिधिसभा निर्वाचन सम्भव रहेको पनि बताउनुभएको छ
उहाँले यी सबै प्रक्रियालाई सुनिश्चित गर्न प्रमुख राजनीतिक दलहरूबीच अग्रिम सहमति आवश्यक रहेको स्पष्ट पार्दै संविधान र लोकतन्त्रलाई पुनः स्वाभाविक मार्गमा फर्काउन सहमतिको ढोका खुला राख्न सबै दललाई आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्