ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भन्नुभयो– “संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट रूपमा बताउनुभएको छ ।
संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सकिने प्रावधान छ । यही सीमालाई स्वीकार गर्दै ट्रम्पले भन्नुभयो, “मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको आधारमा मलाई तेस्रो पटक चुनाव लड्न अनुमति छैन । यो साँच्चै निकै नराम्रो कुरा हो ।”
७९ वर्षीय राष्ट्रपति ट्रम्प र उहाँका समर्थकबीच सन् २०२८ को चुनावमा पुनः उम्मेदवारीबारे चर्चाले अमेरिकामा लामो समयदेखि ध्यान आकर्षित गरिरहेको छ । उहाँका विरोधीहरूले यसलाई चिन्ताको रूपमा लिँदा समर्थकहरूले भने जयजयकार गर्दै उहाँलाई निरन्तर शासनको आग्रह गर्दै आएका छन् ।
सन् २०१७ देखि सन् २०२१ सम्म पहिलो कार्यकाल पूरा गर्नुभएका ट्रम्पले हालै जनवरीमा दोस्रो कार्यकाल सुरु गर्नुभएको हो । संवैधानिक प्रतिबन्ध हुँदाहुँदै पनि उहाँका केही कट्टर समर्थकहरूले उहाँलाई हालको कार्यकालपछि पनि शासनमा रहिरहन आग्रह गर्दै आएका छन् ।
पूर्व रियालिटी टेलिभिजन स्टार ट्रम्पले केही समयअघि ओभल अफिसको डेस्कमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी प्रदर्शन गर्नुभएको थियो, जसले पुनः तेस्रो कार्यकालको चर्चा चुल्याएको थियो ।
उहाँका समर्थकमाझ एउटा लोकप्रिय धारणा छ कि उपराष्ट्रपति जेडी भान्स सन् २०२८ मा ट्रम्पसँगै राष्ट्रपति पदका लागि संयुक्त टिकटमा उम्मेदवार बन्न सक्नुहुन्छ । तर ट्रम्पले यस विचारलाई अस्वीकार गर्दै बुधबार पुनः भन्नुभयो, “म पुनः चुनाव लड्न नसक्ने कुरा अत्यन्त स्पष्ट छ, तर हाम्रो देशमा धेरै महान व्यक्तिहरू छन् ।”
यसैबीच, अमेरिकी सदनका सभामुख माइक जोनसनले पनि क्यापिटलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पसँगको वार्ताको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “मैले राष्ट्रपतिसँग तेस्रो कार्यकालबारे कुरा गरेको छु तर त्यसका लागि कुनै वैधानिक बाटो देखिँदैन ।”
जोनसनले संविधानको २२औँ संशोधनको व्याख्या गर्दै भन्नुभयो, “संविधान स्पष्ट छ—राष्ट्रपतिले दुई कार्यकालभन्दा बढी शासन गर्न सक्दैन । संविधान संशोधन गर्न प्रयास गरे पनि त्यो प्रक्रिया निकै लामो हुन्छ; यसका लागि कङ्ग्रेसको दुई तिहाइ र राज्यहरूको तीन चौथाइ अनुमोदन आवश्यक पर्छ, जुन अहिले असम्भवजस्तै देखिन्छ ।”
ट्रम्पका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख रणनीतिज्ञ स्टिभ बेननले गत हप्ता द इकोनोमिस्टसँगको अन्तर्वार्तामा ‘ट्रम्प फेरि ह्वाइट हाउसमा फर्कनुहुनेछ, उहाँ सन् २०२८ मा पनि राष्ट्रपति हुनुहुनेछ र मानिसहरूले त्यसको तयारी गर्नुपर्छ’ भन्नुभएपछि तेस्रो कार्यकालबारे चर्चा फेरि तीव्र बनेको हो ।
२२औँ संशोधनका सन्दर्भमा सोधिएको प्रश्नमा बेननले भन्नुभएको थियो, “यसका धेरै विकल्पहरू छन् । उचित समयमा हामी हाम्रो योजना के हो भनेर जनतालाई बताउनेछौँ ।”
यससँगै, ट्रम्पले संविधानको सीमा स्वीकार गर्दै तेस्रो कार्यकालमा उम्मेदवारी नदिने अठोट सार्वजनिक रूपले प्रष्ट पार्नुभएको छ तर अमेरिकी राजनीतिको केन्द्रमा उहाँको प्रभाव अझै उतिकै बलियो देखिन्छ ।





प्रतिक्रिया राख्नुहोस्